काठमाडौं । दोस्रो पटक नेपालतर्फबाट चो ओयु हिमाल (८,२०१ मिटर)को आरोहणको प्रयास हुने भएको छ । यसअघि दुई टोलीले पहिलो पटक चो ओयु हिमाल आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।
यसअघि ‘चो ओयु विन्टर नेपाल एक्स्पडिशन प्रजेक्ट’को टोली चो ओयुको आधार शिविर हुँदै ७,९०० मिटर उचाइसम्म पुगेका थियो भने पायोनियर एडभेन्चर ट्रेक्सको टोली आधार शिविर हुँदै ७,७७० मिटर उचाइसम्म पुगी खराब मौसमका कारण आरोहण स्थगित गरेर फर्किएको थियो । आरोहणको प्रयास गर्दागर्दै हिउँदे आरोहणको समय सक्किएकाले आरोहण रद्द गर्नुपरेको थियो ।
यसपटक फेरि शरद ऋतुमा पायोनियर एडभेन्चर ट्रेक्सबाट पर्वतारोही टोलीले चो ओयु हिमालको आरोहणको बाटो खोल्न प्रयास गर्न लागेको कम्पनीका कार्यकारी निर्देशक निवेश कार्कीले जानकारी दिए । उनका अनुसार शरद ऋतुमा चो ओयु हिमाल आरोहणको लागि अहिलेसम्म आठ जना विदेशी आरोही तयार रहेको बताए ।
त्यस्तै नेपालबाट नेपाली आरोही, किचेन ब्वाय, सहयोगी गरी १८ जना छन् । आरोहणको सबै तयारी भइसकेको बताउँदै कार्कीले अबको दुई–तीन दिनमा नेपाली आरोही आधार शिविरतर्फ प्रस्थान गर्ने बताए । त्यस्तै विदेशी आरोही आउँदो असोज ४ गते नेपाल आइपुग्ने र अनुमति लिएर बेस क्याम्प जाने उनले बताए ।
कार्कीले भने, ‘गत वर्ष खराब मौसम र पर्मिटको समय सक्किएकाले फागुन १६ गते चो ओयुको आरोहण रद्द गर्नुपरेको थियौं । त्यस बेला आरोहणको सम्भावना देखिएकोले अहिले प्रयास गर्न लागेका हौं । त्यो बेला आरोहण टोली आफैले खर्च जुटाएर आरोहणको प्रयास गरेको थियो ।’
चो ओयु हिमालको बाटो खोल्ने र नेपालबाट पनि आरोहणको सुरुवात गर्ने उद्देश्यले आफूहरुले आरोहण अभियान अघि बढाएको कार्कीले बताए । यो हिमाल आरोहण गर्न निकै कठिन र जोखिमपूर्ण मानिएकाले चीनतर्फको मोहोडाबाट मात्रै आरोहण हुँदै आएको थियो ।
यस पटक टिमलाई नेतृत्व गर्दै विश्व कीर्तिमानी पर्वतारोहीहरु सानु शेर्पा र मिङ्मा दोर्ची शेर्पा पनि चो ओयु जाने भएका छन् । चीनले कोरोना महामारी सुरु भएदेखि सीमाना बन्द गरेकाले आरोहीहरुले चीनतर्फबाट चो ओयु आरोहण हुन सकेको छैन् । चीनबाट आरोहण गर्दै आएका आरोहीहरुलाई पनि नेपालतर्फबाट चो ओयु आरोहण गर्दा कस्तो हुन्छ ? कसरी आरोहण गर्ने रहेछ ? कत्तिको प्राविधिक (कठिन) रहेछ ? भन्ने अनुभव पनि हुने कार्कीले बताए ।
उनले भने, ‘सरकारबाट केही सहयोग पाउनेवाला छैन् । सरकारले पहिलो पटक प्रयास गर्दा समस्या बुझेर हप्ता–दश दिन पर्मिटको समय बडाइदिएर समिट गरेर आउ, बाटो खोलेर आउ भनेको भए सायद त्यो बेलामा नै दुवै टोलीले चुचुरो चुमेर आउथ्यो कि ?’
सगरमाथा देखाएर, बुद्ध जन्मिएको देश भनेर मात्रै पर्यटन प्रवर्द्धन नहुने भन्दै कार्कीले आफूसँग भएको प्राकृतिक स्रोतहरूको रुपमा धेरै हिमालहरु रहेकाले ती सबैको प्रवर्द्धन गर्नु जरुरी रहेको बताए । उनले मौसमले साथ दिए यस पटकको प्रयासमा बाटो निर्माण गर्दै आरोहण सफल गरेर फर्किने योजना रहेको बताए ।
कार्कीले पर्यटन विभाग, नेपाल पर्वतारोहण संघसँग सन् २०१९ देखि नै सहयोगका लागि कुरा उठाइरहे पनि उनीहरुले चासो नदिएको बताए । केही दिनमा फेरि संघसँग बसेर कुरा गर्ने योजना रहेको उनले सुनाए । यसअघि चो ओयु आरोहण गर्दा करिब ५० लाख खर्च भएको बताउँदै कार्कीले भने, ‘हामीले यति ठूलो रकम खर्च गरेर प्रयास गरेका थियौं । तर यसमा सरकारबाट केही सहयोग भएन् ।