मर्जरपछि बेरोजगार बीमा कम्पनीका सीईओ जागिर खोज्दै, बहालवालालाई जागिर जाने चिन्ता

Advertisement

काठमाडौं । बीमा कम्पनीहरु धमाधम मर्जरमा जान जान थालेसँगै बेरोजगार भएका सीईओ (प्रमुख कार्यकारी अधिकृत)हरु अर्को कम्पनीमा सीईओको खोजीमा लागेको छन् भने  बहालवाला कतिपय सीईओहरुलाई भने जागिर जाने चिन्ताले सताउन थालेको छ । 

बहालवाला सीईओहरु मर्जरपछि पनि कायम रहन दौडधुपमा लागेको देखिएको छ । यता मर्जरका कारण बाहिरिन बाध्य भएका सीईओहरु समेत बीमा क्षेत्रमा फर्किन लबिङमा छन् । नियामक बीमा समितिले पनि यसअघि बाहिरिएका सीईओहरु नयाँ कम्पनीमा फर्किनसक्ने संकेत दिएको छ । 

Advertisement

मर्जरपछि बीमा कम्पनीमा सीईओ बन्न कुलिङ नलाग्ने भएकाले पनि बाहिरिएका सीईओहरु फर्किने र बहालावाला सीईओको जागिर जाने संभावना बढेर गएको हो । कम्पनीहरु मर्जरमा गए पनि कसैको जागिर जान नहुने समितिले बताएको थियो । सीईओ भइसकेकाहरुलाई डेपुटी सीईओमा काम गर्न मर्यादाक्रम पनि नमिल्ने र आत्मसम्मानको विषय पनि भएकाले धेरै बाहिरिएर बसेका छन् । 

बीमा क्षेत्रमा लामो समय काम गरेर अनुभव तथा ज्ञान हासिल गरेका सीईओहरु बेरोजगार बस्नुपर्ने अवस्था मुलुकका लागि पनि हितकर होइन् । तर बीमा समितिको पुँजी वृद्धि गर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण कम्पनीहरु मर्जरमा जान बाध्य भएका छन् । 

यता बीमा समितिले पूराना वा नयाँ सीईओ भन्दा पनि योग्य व्यक्तिलाई सीईओ बनाउन सबै कम्पनीका संचालक समितिलाई सुझाव दिएको बताएको छ । समितिका अध्यक्ष सूर्य सिलवालले भने, ‘हामीले बीमा कम्पनी नयाँ आउँदा सीईओ पनि नयाँ चाहिन्छ भनेका छैनौं तर जो आए पनि योग्य आउनुपर्यो ।’

उनले थपे, ‘बीमा क्षेत्रबाट बाहिरिएका योग्य, पूराना, अनुभवी सीईओ आउँदा पनि मिल्छ । काम गर्ने जोश भएका नयाँलाई सीईओ बनाउँदा पनि हुन्छ । जो आए पनि मर्जरपछिको कम्पनीको व्यवस्थापन धान्नसक्ने व्यक्ति हुनुपर्यो । 

कम्पनी ठूलो भएपछि सीईओ मात्रै नभएर डेपुटी सीईओ पनि समक्ष हुनुपर्ने सिलवालले बताए । उनले कम्पनीको व्यवस्थापनले गरेको निर्णयलाई आफूहरुले सदर वा वदर गर्ने भएकाले पहिले कम्पनीहरुले योग्य मान्छे खोज्न मेहनत गर्नुपर्ने बताए । कतिपय कम्पनीले मर्जरपछि नयाँ व्यक्तिलाई सीईओ बनाउने संकेत दिएका छन् । 

सिलवालले हिमालयन एभरेष्ट इन्स्योरेन्सको उदाहरण दिँदै भने, ‘हामीले हिमालयन एभरेष्टको सीईओमा पूरानैलाई स्वीकृत गरेको तपाईंहरुले देख्नुभएकै छ । अरुमा पनि अहिले कै सीईओहरुले अवसर पाउने ठाउँ प्रशस्तै छ । तर कुनै कम्पनीले बाहिरको समक्ष व्यक्तिलाई ल्याउँछु भन्दा पनि रोक्न त मिलेन् ।’ 

एक आर्थिक बर्षको व्यवसायिक प्रगति हेरेपछि सीईओ कति सक्षम असक्षम भन्ने थाहा भइहाल्ने र मर्जर कमिटिले हरेक पक्षलाई हरेर सीईओ छान्नसक्ने उनको तर्क छ र 

के भन्छन् पूर्वसीईओहरु ? 
नेपाल पुनर्बीमा कम्पनीका पूर्वसीईओ तथा सानिमा जनरल इन्स्योरेन्सका पूर्वडीसीईओ चिरायु भण्डारीले बीमा क्षेत्रले माग गरेको अवस्थामा आफूहरु काम गर्न सदैव तयार रहेको बताए । उनले भने, ‘कुलिङ पिरियड नलाग्ने भनेर समितिले नै भनेकाले सानिमा लाइफमा मेरो नाम पनि सिफारिस भएकै हो । पछि फेरि कुलिङ लाग्ने भएपछि मैले काम गर्न नपाएको हो ।’ 

बीमा क्षेत्रमा नै काम गर्दै आएको मान्छे भएकाले पुनः कुनै कम्पनीमा सीईओको अफर आयो र काम गर्न गइयो भने त्यो के नौलो भयो र ? भन्दै भण्डारीले भने, ‘बजारले माग गरेको अवस्थामा काम गर्न तयार नै छौं हामी ।’ 

सूर्या लाइफका पूर्वसीईओ तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डे पनि पुनः सीईओ भएर आउनसक्ने अअडकल गर्न थालिएको छ । तर उनले त्यो कुराको सुनिश्चितता नभई बोल्न चाहेनन् । पाण्डेले भने, ‘मेरो  यात्रा फेरि बीमा क्षेत्रमा हुन्छ भन्ने कुरा चले पनि तत्कालका लागि कहीं जाने तयारी गरेको छैन् । सरकारी नोमिनेसनमा परिरहेकोले बीमा क्षेत्रमा म तत्कालै फर्किन्न ।’  

त्यस्तै, संभावित नयाँ सीईओको रुपमा प्राइम लाइफका पूर्वसीईओ मनोज भट्टराईलाई पनि हेरिन्छ । प्राइममा दुई कार्यकाल बिताएका उनी त्यति खुल्न चाहेनन् ।  

मर्जरको प्रक्रियामा रहेका तीन ठूला जीवन बीमा कम्पनी प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स तथा रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले सीईओ तय गर्नुपर्ने बेला भइसकेको छ । 

Advertisement

Advertisement