आफ्नो बालबालिकाको मायाले पछिल्लो समय बीमा गर्ने चलन बढेको छः बीमाविज्ञ शर्मा

Advertisement

काठमाडौं । बीमा विज्ञ भोजराज शर्माले बीमा गर्न कुनै किसिमको ढिलाई नगर्न आग्रह गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा नै जोखिमको साथी भएको बताए । 

शर्माले पछिल्लो समय जोखिम बढ्दो रहेको बताउँदै जोखिम आइपर्दा त्यसबाट रक्षावरण गर्ने एकमात्र उपाय बीमा भएको बताए । बीमा गर्नु बचत र रक्षावरण दुवै भएको उनको भनाई छ । 

Advertisement

पैसा बचत गर्न सकिने सुविधा अहिले जताततै उपलब्ध भए पनि बीमाको काम बीमाले मात्रै गर्ने भएकाले यसको छुट्टै महत्व रहेको शर्माको भनाई थियो । उनले बीमा गर्नु पर्छ भन्ने धेरैलाई थाहा भए पनि अधिकांशले बीमा गर्न ढिलाई गर्ने वा लापरबाही गर्ने गरेको अनुभव सुनाए । 

शर्माले कतिपय मानिसलाई भने बीमा के हो ? भन्ने कुराको वास्तविक ज्ञान समेत नहुँनु दुखदायी कुरा भएको बताए । बीमा नबुझ्दा धेरैले बीमाबाट लाभ उठाउन नसकेको उनले बताए । कतिपय मानिसले बीमाको महत्व थाहा पाएर पनि बीमा नगर्ने गरेको शर्माको भनाई छ । 

उनले पछिल्लो समय जनताले बीमा बुझ्नुपर्छ र बीमा गर्नुपर्छ भनेर विभिन्न कार्यक्रम सञ्चालन हुन थालेकोमा सकारात्मक प्रतिक्रिया दिए । केही बीमा पोलिसिमा र विकट स्थानमा सरकारले नै बीमा गर्न अनुदान दिएकोले जनताले नै अब बीमा गर्न आफै अग्रसर हुनुपर्ने शर्माले बताए । उनले बीमामा गरिएको लगानीको अन्तर्राष्ट्रिय महत्व हुने तर्क गरे । 

शर्माका भनाई जस्ताको तस्तैः 
बीमाको सुरुवात धेरै वर्ष पहिलेबाट भएको भए पनि पछिल्लो समय यसको महत्व बढिरहेको अवस्था छ । विगत पाँच वर्षदेखि बीमामा आकर्षण बढ्नुको कारण भनेको बीमाले आफ्नो क्षेत्र फैलाउँदै गएको र नयाँ आयाम थपेको कारणले गर्दा हो । अहिले कृषि बीमामा पनि किसानहरु आकर्षित भएको देखिन्छ भने मोटर बीमा पनि अनिवार्य बीमा भएकाले यसमा बीमितको सहभागिता धेरै छ । 

विदेशमा जानेहरुले गर्दा म्यादी बीमाको पनि संख्या बढेको छ । अहिले नयाँ नयाँ प्रोजेक्टमा, बैंकमा ऋण लिँदा पनि बीमा गराउनुपर्ने प्रावधान छ । यता आयात निर्यातमा पनि बीमा जोडिन्छ । यी साधारण कुरा भए तर २०७२ सालको भूकम्पले पनि बीमा गर्नुपर्छ भन्ने पाठ सिकाएको छ ।

बीमा नगर्नेले बीमाबाट लाभ पाउँदैन । आफ्नो भविष्यको लागि आफैले बीमाबाट लाभ लिन सक्छौं । कसैको पनि आयु कति हो थाहा हुँदैन । मानिसको अहिले क्रयशक्ति बढेको छ । यसबाट पनि हामीले बचत गरौं भन्ने कुरा पनि सिक्नुपर्छ । 

आफ्नो बालबालिकाको मायाले गर्दा पनि बीमा गर्ने अवस्था बढेको छ । अहिले पहिलेको जस्तो ठूलो परिवार हुँदैन् जस्ले गर्दा आफ्नो बालबालिकालाई राम्रो शिक्षा र बीमामा सहभागिता बढाउने क्रम बढेको छ । अहिले सबैको हात हातमा भएको मोबाइलले बीमाको महत्व बढाएको छ । अहिले बीमाको बारेमा थाहैनहुने मान्छे छैन् । 

बीमा सहभागीता बढाउन राज्यले लघुबीमामा अनुदान दिन जरुरी छ । त्यस्तै, गरिबीको रेखामुनी रहेका मानिसलाई अनुदान दिन जरुरी छ । बीमाका बारेमा जनमानसमा साक्षरता कम छ । बीमाको बारेमा थाहा पाउनेले पनि बीमा गर्ने संस्कार बसाउन जरुरी छ । बीमा गर्दा मानिस सिधै गरिबीको लाइनमा जाँदैन । दुःख गरेर कमाएको सम्पत्ति बीमा गर्नुपर्छ ।

अहिले हामीले दुःखसुःख गरेर खान्छौं । तर, बीमा गर्यौं भने हामीलाई दुःख पर्दामा पनि आर्थिक जोखिम कम हुन्छ । बीमा चेतना भनेको बीमा बुझ्ने कुरा भयो । अब यसमा बीमाको महत्व बुझ्ने मात्रै भन्दा पनि अब बीमा गर्ने संस्कार बढाउन जरुरी छ । 

बीमा ऐन पनि आउने तयारीमा छ । त्यो आएपछि पनि बीमा चेतना अझै बढ्छ भन्ने मेरो अनुमान छ । अहिलेको अवस्था भनेको बीमाको बारेमा आवश्यक सकारात्मक कुराहरु हामीले फैलाएर सबैलाई बीमाबाट लाभ लिनसक्ने अवस्था सिर्जना गर्न जरुरी छ । 

Advertisement

Advertisement