ठूला र थोरै बीमा कम्पनी हुँदा बीमितहरुले पाउने सुविधा पनि बढ्ने मैले देख्छुः सीईओ क्षेत्री

Advertisement

काठमाडौं । बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले मर्जरले बीमा कम्पनीको व्यवसाय वृद्धि गर्नेभन्दा पनि कम्पनीलाई मजबुत बनाउन सघाउने बताएका छन् । 

मर्जरले बजार व्यवसाय बढाउला कि घटाउला ? भन्ने प्रश्न उठ्न थालेको बेला कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मर्जरको वास्तविक काम कम्पनीको जोखिम धारण क्षमता बढाउने रहेको बताए । 

Advertisement

क्षेत्रीले जनताबाट माग भएअनुसार बजार चल्नु स्वाभाविक रहे पनि कम्पनी बलियो हुने कुरा झनै महत्वपूूर्ण हुने बताए । उनले भने, ‘व्यवसायको ग्रोथ एकै पटकमा हुने कुरा होइन । तर, रिटेन्सन (धारण) क्षमता र अस्वस्थ प्रतिस्पर्धा एकै पटकमा हटाउन मर्जरले साथ दिन्छ । मैले त अब ग्राहकहरुले पाउने सुविधा पनि वृद्धि हुने देखेको छुँ ।’ 

उनले विदेशमा पनि नेपालको जस्तै गरी बीमा कम्पनीहरु मर्जरमा गएका र त्यस्ता मर्जर सफल भएको बताउँदै सानो बजारबाट राम्रो काम गर्न सकेमा ग्राहकको माग आफै बढ्ने र नयाँ सिनर्जी आउने बताए । 

त्यस्तै, नयाँ प्रोडक्ट पनि बजारले मागेको भन्दै क्षेत्रीले अहिले बजारको आवश्यकता जति पूरा हुन्छ, सोही अनुसार मात्रै बीमा व्यवसाय बिस्तार हुने बताए । उनका अनुसार मर्जरले नै बजार बढाउँछ भन्ने होइन तर बजारमा कम्पनी घट्दा अस्वस्थ प्रतिस्पर्धा पनि कम हुनेछ । 

सीईओ क्षेत्रीले नयाँ नौलो ठाउँमा पनि बीमा कम्पनीहरु जान थालेमा सिमित व्यवसायका लागि विगतको जस्तो तानातानको अवस्था कम हुने आशा व्यक्त गरे । उनले भने, ‘तपाईंहरुले के बुझ्नु पर्यो ? भने बीमा कम्पनीहरु मर्जरमा जानु र नजानुले धेरै कुरामा फरक पार्छ । पहिले पहिले बीमा कम्पनीहरु मर्जरमा जानेभन्दा के होला ? कस्तो अवस्था आउला ? भन्ने मलाई पनि लागेको थियो । तर, अहिले बीमा मर्जरले एउटा आकार बनाउदै गएको छ । त्यसको मतलब बीमा कम्पनीहरु र नियमनकारी निकायको अध्ययनले मर्जर सफल हुने देखाएको छ ।’
 
यद्यपि मर्जरलाई लिएर बजारमा धेरै किसिमका आशंका र चिन्ता भने उठ्ने गरेका छन् । बीमा कम्पनीहरुलाई मर्जरभन्दा पनि पुँजी बढाउन बीमा समितिले दबाब दिएको थियो । अब पुँजी बढाउन पनि मर्जरमा नै जानु पर्ने बाध्यताले गर्दा धेरै कम्पनीहरु अहिले मर्जरमा जाँदैछन् । 

बीमा कम्पनी ठूलो हुँदै गएपछि उसले विगतमा समेट्दै आएका जोखिमहरु अझ धेरै मात्रामा लिन सक्ने विश्वास समितिको छ । साना धेरै बीमा कपनीहरु हुनुभन्दा पनि बरु ठूला थोरै कम्पनी हुनु ठिक रहेको सीईओ क्षेत्रीले बताए । 

Advertisement

Advertisement