काठमाडौं । सरकारले पटका, भुइँचप्पाको आयात र प्रयोगमा प्रतिवन्ध लगाउँदै आएको छ । तर पनि हरेक बर्ष तिहार (दीपावली)मा ठूलो मात्रामा यसको अवैध आयात र प्रयोग भने हुन छोडेको छैन् । पटकाका कारण तिहारमा ठाउँ ठाउँमा जनधनको क्षति भएको समाचार पनि आउने गर्छ ।
तिहार नजिकिँदै गर्दा यस्ता पटकाहरुबाट हुने मानवीय र भौतिक क्षतिको बीमा कम्पनीहरुले दावी भुक्तानी गर्छ कि गर्दैन् ? भन्ने जिज्ञासा आम मानिसमा हुनसक्छ । तर नडराउनुहोला, यस्ता क्षतिमा पनि बीमा कम्पनीहरुले दावी भुक्तानी गर्छन् ।
पुलिस प्रशासनले पटका पडकाउन निरुत्साहित गर्दै आएको बेला आम जनताले पनि आफू र आफ्ना सन्तानलाई पटक पड्काउने कुरामा सावधानी अपनाउने र अपनाउन लगाउनुपर्ने जरुरी देखिन्छ । सावधानी अपनाउँदा अपनाउँदै पनि हुनसक्ने दुर्घटना र क्षतिमा भने बीमा कम्पनीहरुले बीमा दावी भुक्तानी गर्नुपर्छ ।
घर, गोठ आदि (सम्पत्ति)को क्षति हुँदा गरिने दाबी भुक्तानी निर्जीवन बीमा अन्तर्गत पर्छ भने मानिस दुर्घटनामा परी घाइते हुने वा ज्यानै गएको अवस्थामा गरिने दावी भुक्तानी जीवन बीमा निर्जीवन बीमा दुवैअन्तर्गत पर्दछ । तिहारमा पटकाका कारण हुनसक्ने क्षतिमा दावी भुक्तानी पाउनसक्ने भए पनि रमाइलो अवसरमा सकेसम्म दुर्घटना हुनबाट साजधानी अपनाउनुपर्ने बीमा कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत)हरुको सुझाव छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ सुरेश खत्रीले पटकका कारण हुने आगलागी वा अन्य कुनै दुर्घटनाको क्षतिमा बीमा कम्पनीहरुले पैसा दिनैपर्ने बताए । सरकारले आयातमा रोक लगाएको वस्तु प्रयोगबाट हुने क्षतिमा कतै बीमा दावी भुक्तानी गर्न नमिल्ने हो कि ? भन्ने कतिपयको आशंका रहे पनि उनले त्यस्तो आशंका नगर्न आग्रह गरे ।
खत्रीले भने, ‘हुन त बीमामा दाबी भुक्तानी पाउने नपाउने भन्ने कुरा अवस्था हेरेर पनि हुन्छ । तर, पटका पडकाएर आगलागी तथा क्षति भएमा कम्पनीले त्यस्तो विवरण पत्ता लगाउने सम्भावना कम हुन्छ ।’ निर्जीवन बीमा कम्पनीहरुले पटकाका कारण आगलागी भएको अवस्थामा बीमितलाई पैसा दिँदै आएको पनि उनले उदाहरण दिए ।
पटकाकै कारण आक्कल झुक्कल मात्रै दाबी पर्ने भएकाले त्यस्तो अवस्थामा भुक्तानी दिने गरेको खत्रीको भनाई छ ।
यता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ पवन खड्काले आतंकवादको घटनाभन्दा बाहेक अन्य अवस्थामा दाबी भुक्तानी नरोकिने बताए । उनले भने, ‘बीमितलाई कानुनले नै दाबी भुक्तानीमा रोक्नु हुन्न भनेको छ । तर कहिलेकाहीं आतंकवाद लगायतका अपवादका घटनामा भने भुक्तानी रोकिनसक्छ । पटका त बम होइन् । त्यसैले रमाइलोको लागि पटका पटकाउँदा आगलागी भएमा वा कसैको ज्यान जोखिमा परेमा त्यसको त दाबी भुक्तानी बीमा कम्पनीहरुले गर्नुपर्छ ।’
खड्काले ‘एनि कज अफ डेथ’ नै बीमाको मन्त्र भएकाले बीमितले दाबी भुक्तानी पाउनेमा कुनै शंका नगर्न आग्रह गर्दै पटकाका कारण हुनसक्ने क्षतिमा पनि दावी भुक्तानी नगर्ने हो भने किन बीमा गर्ने ? भन्ने प्रश्न पनि उठ्नसक्ने बताए ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने आतंकवादी क्रियाकलापमा मात्र नभई मनोरन्जनका लागि गरिने गतिविधिमा हुने क्षतिमा समेत बीमा कम्पनीहरुले पैसा नदिने बताए ।
उनले भने, ‘हामीले बीमालेखमा आतंकवादीसँग जोडिने कुनै पनि क्रियाकलापमा बीमाले भुक्तानी गर्दैन भन्ने थाहा पाएका छौं भने मनोरन्जनका लागि गरिने गतिविधिमा पनि बीमाले पैसा दिदैन ।’ तर तिहारमा जानीजानी आगो लगाएको अवस्थामा बाहेक पटका पड्काउँदा झुक्किएर हुने आगलागी वा क्षतिमा भने दावी भुक्तानी हुने पौडेलले स्वीकार गरे ।
उनले बीमा कम्पनीहरुले हाल गर्दै आएको दावी भुक्तानी भने तेस्रो पक्षको बीमा रहेको र बीमितले पटका पटकाउँदा अर्को नयाँ व्यक्ति वा अर्काको घर, सम्पत्तिको क्षति भएमा त्यस्ता क्षतिको भने दाबी भुक्तानी दिनुपर्ने बताए ।