काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन खड्काले पछिल्लो समय बीमा कम्पनीहरुको दाबी भुक्तानीमा सुधार हुँदै गएको बताएका छन् ।
उनले जीवन बीमाका बीमितले दाबी भुक्तानी पाउने दुईवटा अवस्था रहेको भन्दै अवस्था जस्तो भए पनि भुक्तानीमा भने कुनै ढिलाई गर्न नहुने आफूहरुको मान्यता रहेको बताए । खड्काले सूर्या लाइफमा चालु आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ८३९ दाबी पर्दा ८३१ वटाको दाबी भुक्तानी दिइसकेका जानकारी दिए । उनले दावी भुक्तानीको अनुपात हेर्दा सूर्या लाइफ संभवतः पहिलो कम्पनी रहेको दावी गरे ।
खड्काले बाँकी रहेका आठ वटा दाबी भुक्तानीको पनि अनुसन्धान भइरहेको बताए । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमितका लागि नयाँ प्रविधिमा आवद्ध हुन बीमा कम्पनीहरु लागिपरेको र त्यसकै नतिजास्वरुप पछिल्लो समय जीवन बीमामा बीमितको सहभागीता बढेको पनि बताए ।
यस्तो छ सीईओ खड्काको भनाईः
बीमा गर्ने भनेकै केही पर्दा आर्थिक सुरक्षाको लागि हो । हामीले मृत्यु दाबीलाई समयमा दिनुपर्छ भन्ने कुरा सुन्छौं । यसमा हामीले केही प्राविधिक कुरा बुझ्नुपर्छ । एउटा मृत्यु हुँदा दिने दाबी भुक्तानी र अर्को भनेको समय अवधि पूरा भएपछि लिने बीमांक । यसमा अर्को भनेको धन फिर्ता बीमा पनि छ । यो सबै हामीले दाबी भुक्तानीमा जोड्छौं । यसमा मुख्य समस्या भनेको हामीले समयावधि पूरा भएपछि बीमितले पाउने पैसा समयमा दिनुपर्छ भन्ने हो ।
अहिले बीमितले बीमाको लागि बीमाशुल्क मासिक, वार्षिक, अर्धवार्षिक रुपमा तिर्न मिल्ने व्यवस्था छ । बीमा समितिले पनि आफ्नो अवधि पूरा गरेर पैसा बुझाएका बीमितलाई बेलैमा खातामा पैसा पठाउनु भनेको छ । तर, बीमितले उक्त रकम पाउनका लागि केही प्रक्रियाहरु पूरा गर्नुपर्ने बाध्यता छ । त्यो चाहिं बीमितको सुरक्षाकै लागि हो । सक्कली बीमितले नै पैसा पाउनु होला भनेर हो ।
कतिपय अवस्थामा बीमितहरु नै पैसा नआएको अवस्था हुनसक्छ । पूरानो बीमा ऐन २०४९ ले यसमा समस्या पारेको जस्तो मलाई लाग्छ । अब नयाँ बीमा ऐन २०७९ ले त्यस्ता समस्याहरु समाधन गर्न मद्दत गर्ला । अहिलेसम्म सम्बन्धित व्यक्तिको हस्ताक्षर बिना बीमाले पैसा दिन नमिल्ने अवस्था पनि छ ।
अब बीमाले सोही दिनमै पैसा पाउने किसिमले बीमितलाई पैसा दिन आवश्यक भएको छ । हालम्म बीमितले नै आफ्नो फोन नम्बर र विवरणहरु राम्रोसँग नभर्दा त्यसले पनि समस्या ल्याएको अवस्था छ । हामीले त बीमितको ठाउँमा अभिकर्ताहरुको नै फोन नम्बर पाएका छौं । त्यसले पनि कहिलेकाहीं दाबी भुक्तानी गर्न ढिलाई हुने गरेको छ ।
बीमित, अभिकर्ता र बीमा कम्पनीहरुको संचार समयमै हुन पाएमा बीमितको दाबी भुक्तानी रोकिने सम्भावना कम छ । जीवन बीमाले जति छिटो भुक्तानी गर्नसक्छ, त्यति नै धेरै उसको प्रचार हुने हो । पछिल्लो दुई वर्षमा हेर्ने हो भने विगतमा रोकिएका कतिपय दाबी भुक्तानीहरु हामीले दिएका छौ । दिने प्रयास गरिरहेका छौं ।
जीवन बीमाले पैसा दिँदैन भन्ने कुरा हुँदैन् । तर, त्यसमा धेरै भुक्तानी दिँदा पनि केही कारणवस रोकिएका भुक्तानीको चर्चा बढि हुनेगर्छ । अहिले अभिकताहरुले पनि धेरै ठाउँमा पुग्नु भएको छ भने अभिकर्ता नपुग्ने ठाउँमा पनि हामीलाई प्रविधिले बीमितसँग जोडन सहज बनाएको छ । त्यसैले यसले त बीमितलाई धेरै पैसा भुक्तानी गर्न सघाएको छ ।
सूर्या लाइफमा मात्रै हेर्ने हो भने विगतमा करोडौं रुपियाँ पेन्डिङ हुन्थ्यो भने अहिले जम्मा लाखमा झरेको छ । यो त विगतको तुलनामा धेरै सुधार हो ।कुल दाबी परेको संख्या सूर्या लाइफ इन्स्योरेन्समा १७ हजार ७८ वटा छ भने सोमध्ये हामीले १७ हजार १० वटा दाबीको भुक्तानी गरिसकेका छौं । अब हामीले गएको असार मसान्तदेखि असोज मसान्तसम्म तथ्यांक हेर्ने हो भने जम्मा आठ वटा मात्रै दाबी बाँकी छ । यो तथ्यांकको आधारमा हेर्ने हो भने सूर्या लाइफ दावी भुक्तानी गर्ने अनुपातमा संभवतः पहिलो कम्पनी हुनसक्छ ।