बैंकको किस्ता तिर्ने समय दुई वर्ष नथपे होटलहरु बन्द गर्ने चेतावनी, बैंकहरुले साह्रै दबाब दिएः साह

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)ले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय दुई वर्ष थप नगरे होटलहरु बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । 

हानले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । उसले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

Advertisement

संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए । उनले सरकारले कोभिडको समयमा होटलहरुलाई दिएको बैंकको सावाँ, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए । 

साहले सरकारले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रुपमा हेरेको स्मरण गराउँदै होटलहरु अझै अतिप्रभावित नै रहेको बताए । उनले विगतको भन्दा होटलहरु सामान्य सुधार भए पनि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको बताए । 

साहले अहिले पनि होटलहरु दैनिक घाटामा नै सञ्चालनमा रहेका बेलामा पनि बैंकहरुले असोज मसान्तमा तिर्नुपर्ने सावाँब्याज तिर्न दबाब दिइरहेको बताए । उनले पोखरा र भैरहवाका होटल व्यवसायीहरुले असोज मसान्तमा तिर्न सक्दैनौं भनेर घोषणा गरेको भन्दै देशभरका होटलहरुमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरु बन्द गर्नुपर्ने चेतावनी दिए । 

साहले होटलहरुलाई तिर्नुपर्ने सावाँब्याज तिर्दै नतिर्ने व्यवसायीहरुले नभनेको भन्दै बैंकहरुलाई सावाँ ब्याज तिर्ने तर समय दिनुपर्ने बताए । उनले अहिलेको परिस्थितिमा होटलहरुले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भए पनि कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन असक्षम रहेको बताए । 

साहले यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको बताए । उनले कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीब्र रुपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको बताए । 

Advertisement

Advertisement