काठमाडौं । हेलिकप्टरमार्फत ‘फेक रेस्क्यु’ (नक्कली उद्दार) गर्दै अझै पनि बीमा कम्पनीलाई झुक्याउने गरेको घटना बाहिर आएका छन् । बीमा समितिका अनुसार हिमाली क्षेत्रमा सामान्य बिरामी हुँदा पनि हेलिकप्टर मगाउने र स्वास्थ्य उपचार खर्च दावी हुने क्रम नरोकिएको समितिले बताएको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘हामीले हेलिकप्टरबाट रेस्क्यु गर्दा ठगी हुने कुरा त पहिलेदेखि सुनेका हौं । यो अझै रोक्किएको छैन् । त्यस्तो ठगीमा नेपालको नभई विदेशबाटै पर्यटकले गरेको बीमामा यस्तो समस्या हुने गरेको छ । सामान्य टाउको दुख्दा पनि हेलिकप्टर सुविधा दिने र बिरामी नभई अस्पताल खर्च उठाउने प्रवृति अझै कायमै छ ।’
उनले बीमितले पूरा प्रमाण दिएको बेलामा बीमा कम्पनीहरु पैसा दिन बाध्य हुने भए पनि सामान्य बिरामीलाई उद्दार गरेको नाममा हेलिकप्टर बोलाएर अस्पताल लैजाने र बीमा दाबी मागेको फेला परेमा कारबाही गर्ने बताए ।
यता सानिमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुध्युम्न उपाध्यायले विगतमा ‘फेक रेस्क्यु’ र ठगीका घटनाहरु हुने भए पनि पछिल्लो समय भने त्यसमा सुधार भएको दावी गरे ।
उनले भने, ‘विगतमा हेलिकप्टरबाट धेरै नक्कली बिरामी आउँथे । तर, अहिले त्यसमा सुधार भएको छ । अहिले नियमनकारी निकाय बीमा समिति र बीमा कम्पनीले नै नक्कली बीमा आउँछ भनेर कडाई गर्दा त्यसको संख्या धेरै हदसम्म घटेको छ ।’
उपाध्यायले त्यस्ता बदमासी विदेशी बीमा कम्पनीको कारण हुने गरेको बताए । उनले विदेशबाट नेपाल आउँदा विदेशीहरुले यात्रा बीमा गराउने र त्यसबाट लाभ लिनका लागि नेपालका रहेका अस्पताल र हेलिकप्टरको सुविधा भोग गरेर जाने चलन विगतमा रहेको बताए ।
विदेशबाट बीमा गरेर नेपाल आउँदा दावी भुक्तानी भने यात्राको जिम्मा लिने नेपाली बीमा कम्पनीमाथि हुन्छ । कोरोना महामारीअघि विदेशी पर्यटकहरुसँग सम्बन्धित नक्कली बीमा धेरै हदसम्म रहे पनि पछिल्लो समय भने त्यसमा सुधार भएको कम्पनीहरुको भनाई छ । विदेशी बीमा कम्पनीहरुले नै नेपालमा नाम चलेका केही बीमा कम्पनीहरुको बदनाम गराउन समेत उताबाट बीमा गराएर अनावश्यक लाभ माग्ने संस्कार बसाउन खोजेको सीईओहरुको गुनासो छ ।