दोस्रो पटक नेपालतर्फबाट चो–ओयु चुम्ने प्रयासः आरोहीहरु साढे सात हजार मिटर उचाईमा पुगे

Advertisement

काठमाडौं । दोस्रो पटक नेपालतर्फबाट चो–ओयु हिमाल (८,२०१ मिटर)को आरोहणको प्रयासमा रहेको आरोहण टोली सात हजार मिटर उचाईमा पुगेको छ । 

यसअघि दुई टोलीले पहिलो पटक चो–ओयु हिमाल शिखर चुम्ने प्रयास गरे पनि प्रयास सफल हुन सकेको थिएन् । यस पटक भने आरोहण सफल हुने संभावना देखिएको छ । 

Advertisement

निकै कठिन हिमालको रुपमा रहँदै आएको चो–ओयुको आरोहण यसअघि चीनतर्फबाट मात्रै हुँदै आएको थियो । चुचुरोमा पुग्ने अहिले दुवै टोली रुट निर्माणमा सक्रिय रहेको पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । 

यसपटक फेरि पायोनियर एडभेन्चर ट्रेक्सबाट पर्वतारोही टोलीले सात हजार तीन सय उचाईसम्मको रुट निर्माण गरेको बताउँदै उनले अहिलेको शरद ऋतुको आरोहणमा पाँच जना विदेशी पनि रहेको बताए । टोलीमा नेपालबाट नेपाली शेर्पा गाइड, आरोही, किचेन ब्वाई, सहयोगी गरी १७ जना छन् । 

आरोहण टोलीले अबको दुई दिनमा शिखर चुम्ने लक्ष्य राखेका पनि शेर्पाले बताए । टोलीलार्ई विश्व कीर्तिमानी पर्वतारोहीहरु सानु शेर्पा र मिङ्मा दोर्ची शेर्पाले नेतृत्व गरिरहेका छन् । 

त्यस्तै, सेभेन समिट ट्रेक्सको अर्को आरोही टिम पनि सात हजार छ सय मिटर उचाइसम्म पुगेको सो कम्पनीका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । यो टोलीले पनि दुई दिनमा शिखर चुम्ने लक्ष्य राखेको छ । आफ्नो कम्पनीको आरोहण टिममा छ जना विदेशी रहेको गुरागाईंले बताए । त्यसबाहेक नेपाली गाइड, आरोही, किचेन ब्वाइ, सहयोगी गरी आठ जना छन् । 

टोलीलाई विश्व कीर्तिमानी पर्वतारोहीहरु ग्याल्जेन शेर्पाले नेतृत्व गरिरहेका छन् । यो टोलीमा पर्वतारोहीहरु ग्याल्जेन शेर्पा, सोना शेर्पा, मिङ शेर्पा, दावा शेर्पा, टेम्बा शेर्पा, तेन्जिङ शेर्पा, पासाङ नुरु शेर्पा र लाक्पा टेम्बा शेर्पा छन् । नेपाल तर्फबाट रुट खोल्न सके ठूलो उपलब्धी हुने व्यवसायीदेखि आरोहीहरुको आशा छ । 

चो–ओयुको बाटो खोल्ने र नेपालबाट पनि आरोहणको सुरुवात गर्ने उद्देश्यले यी दुई टोलीले आरोहण अभियान अघि बढाएको हो । चीनले कोरोना महामारी सुरु भएदेखि सीमामा कडाई गरेपछि चीनतर्फबाट चो–ओयु आरोहण हुन सकेको छैन् । 

यसअघि विन्टर सिजन (हिउँद ऋतु)मा पायोनियर एडभेन्चर ट्रेक्स र ‘चो ओयु विन्टर नेपाल एक्स्पडिशन प्रजेक्ट’को टोलीले चो–ओयु हिमालको रुट निर्माण गर्ने प्रयास गरेका थिए । दुवै टिम सात हजार मिटरभन्दा माथि पुगेपछि खराब मौसमका कारण आरोहण स्थगित गर्नुपरेको थियो । 

आरोहणको प्रयास गर्दागर्दै हिउँदे आरोहणको समय सक्किएकाले आरोहण रद्द नै गर्नुपरेको थियो । चो–ओयु हिमाल आरोहणको लागि ११ जना विदेशीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमध्ये आठ जना महिला र तीन जना पुरुष छन् ।

अहिलेको शरद ऋतुमा ४० वटा हिमाल आरोहणका लागि ७४ देशका एक हजार ३० जनाले अनुमति लिएको भन्दै विभागले अनुमति लिनेमध्ये २३१ जना महिला र ७९९ जना पुरुष रहेको जानकारी दिएको छ । उनीहरुबाट सरकारले ७६ करोड ३४ लाख आठ हजार ९५८ रुपियाँ रोयल्टी पनि संकलन गरेको छ ।

Advertisement

Advertisement