इटालीका चर्चित दृष्टिविहीन नेपाल आएर गाङछेंपो हिमालको आरोहण सुरु

Advertisement

काठमाडौं । पहिलो पटक गाङछेंपो हिमाल (६,३७८ मिटर) आरोहण सुरु गरिएको छ । हिमाल आराहण टोलीमा इटलीका चर्चित टृष्टिविहीन सिमोने साल्भानिनि समेत छन् । 

शनिबार सिन्धुपाल्चोक तर्फबाट उनीहरुले आरोहण सुरु गरेका हुन् । इटालीका प्याराक्लाइम्बिङ टिमका च्याम्पियन सिमोने साल्भानिनि, सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी, डिएमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्को सहित नेपाली पर्वतारोही आरोहण टिममा छन् । 

Advertisement

गरिमा भोयज टुर्स एण्ड ट्राभलका संस्थापक रविन्द्र आर्यालका अनुसार दिगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्य लिएर यो आरोहण सुरु गरिएको हो । 

गरिमा भोयज र न्यू भिजन नामक संस्थासमेतले संयुक्त रुपमा सुरु गरिएको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामु ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गर्न लागेको संस्थाका संस्थापक रवीन्द्र आर्यालले जानकारी दिए ।

उनले स्थानीय निकाय र इटालीस्थित एसएटीको प्राविधिक सहयोगमा ट्रेलहरूको सञ्जाल रहेको मेलम्ची, पाँचपोखरी र हेलम्बु क्षेत्रका लागि सन् २०२४ सम्म दिगो गन्तव्यको रूपमा प्रमाणीकरण प्राप्त गर्ने लक्ष्य लिएको बताए । 

संयुक्त राष्ट्रसंघका प्रवक्ता समेत रहेका दृष्टिविहीन खेलाडी साल्वाग्निनको सहभागिताले यो अभियानलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ । उनले हासिल गर्ने अनुभव र सफलता अन्य आरोही भन्दा फरक दृष्टिकोणबाट अनुभव बाड्न सक्ने आयोजकले विश्वास लिएको जनाएको छ । 

आरोहण दलमा इटालीयन टिमसँग टिम लिडर रवीन्द्र आर्यल, न्यु भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्ट, विश्वको ८ हजार मिटरको १४ वटै हिमाल दुई पटक आरोहण गरेका विश्व कीर्तिमानी पर्वतारोही तथा नेपाली माउन्टेन गाईड सानु शेर्पा, ह्योल्मो समुदायकी पहिलो सगरमाथा आरोही कान्छी डोल्मा ह्याल्मो लगायत अन्य नेपाली आरोही लालबहादुर बाइबा, रामकाजी तिवारी, संजिव गुरुङ र अन्य सहयोगी दलको सहभागी रहेको आयोजकले जनाएको छ । 

गाङछेंपो हिमाल आरोहणको अभियान गरिमा भोयजले गरेका हुन भने ग्राउन्ड ह्याण्डलिङ तथा आरोहण प्राविधिक सहयोग माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगन)ले गरेको छ ।  

गाङछेंपो आरोहण टिमका संयोजक तथा मोगनका अध्यक्ष संजिव गुरुङले आरोहण टिममा विश्व प्रसिद्ध र नेपाली अनुभवी पर्वतारोही गाइडहरू समावेश रहेको बताए । उक्त आरोहण अभियान सफल हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

गाङछेंपो हिमाल नेपालको हिमालय क्षेत्रको जुगल पर्वत शृङ्खलामा पर्छ । यो हिमाल रसुवा जिल्लामा अवस्थित छ। गाङछेंपो काठमाडौंदेखि नजिक रहेकोले आरोहणको लागि राम्रो व्यवसायिक संभावना बोकेको चुली हो । 

यो हिमालको सफल आरोहण पश्चात विश्वभर प्रचार प्रसार भई गतिलो र दिगो पर्यटनमा आधारित टुरिजम प्रडक्ट हुने समेत आयोजकले जनाएको छ । शुक्रबार नेपाल पर्वातारोहण संघको वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डेले आरोहण टोलीलाई शुभकामना सहित संघको झण्डा हस्तान्तरण गरेका थिए । 

गरिमा भोयजको पहल गरिएको आरोहण अभियानलाई इटालीको मोन्टुरा आउटडोर कम्पनीद्वारा सहयोग गरेको छ। अभियानलाई पाँचपोखरी थाङपाल गाउँपालिका, नेपाल पर्वातोरहण संघ, मोगान लगायत विभिन्न व्यक्ति तथा संघ संस्थाको साथ रहेको छ ।

Advertisement

Advertisement