बाहिरका उम्मेदवार र पूराना नेताबाट मतदाता दिक्दार छन्, यस  पटक म सजिलै जित्छुः पोखरेल

Advertisement

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ की राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले पूराना नेताहरुदेखि राजधानीवासी रुष्ट रहेको बताउँदै उनीहरुको समेत समर्थन आफूले पाउने र चुनाव सजिलै जित्ने दावी गरेकी छन् । 

चुनाव प्रचारका क्रममा मंगलबार उनले घरदैलो कार्यक्रममा मतदाताको उत्साहजनक सहभागिता हुने गरेको पनि बताइन् । पोखरेलले आज काठमाडौं महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत कोटेश्वर, तीनकुने, सुविधानगर, गैरीगाउँ र सिनामंगलमा घरदैलो तथा मतदातासँग भेटघाट गरेकी थिइन् । 

Advertisement

उनले घरदैलोका क्रममा आफूले चुनाव जितेपछि गर्ने काम र जनताका आवश्यकताबारे पनि चासो राख्ने गरेको बताउँदै भनिन्, ‘मैले भोट माग्ने क्रममा स्थानीयसँग तपाईंहरुका चाहना के छन् ? भनी प्रश्न गर्दा, ‘उहाँहरुले पहिला भोट माग्न आउनेहरुले पनि यसैगरी तपाईंहरुका चाहना के छन् ? भनी सोध्ने गरेका थिए । तर चुनावपछि फर्केर आएनन्’ भन्नुहुन्छ ।’ 

आफ्नो निर्वाचन क्षेत्रमा पटक–पटक बाहिरका उम्मेदवार भोट माग्न आएका कारण मतदाता दिक्दार भएको उनले सुनाइन् । पोखरेलले पर्यटक उम्मेदवारबाट दिक्दार भएका मतदाताले यस  पटक आफूलाई सहयोग गर्ने बताउने गरेको उदाहरण दिएको बताउँदै आफ्नो पक्षमा बढ्दै गएको लहरबाट आफू उत्साहित भएको बताइन् । कुन्तीको प्रमुख प्रतिस्पर्धीको रुपमा सत्ता गठवन्धनबाट माओवादी केन्द्रकी ओन्सरी घर्ती छन् । 

Advertisement

Advertisement