हाम्रो राष्ट्रिय, स्वधीनता, स्वाभिमानको अन्तर्राष्ट्रिय समुदायले सम्मान गरुन्ः रवि

Advertisement

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दललाई सच्चिन चेतावनी दिएका छन् । चितवनमा बिहीबार आयोजित धन्यवाद सभामा उनले ठूला दललाई सच्चिने अन्तिम मौका आएको बताए । 

लामिछानेले ठूला दललाई सच्चिन र जनताका पक्षमा काम गर्न सुझाव दिँदै जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताए ।

Advertisement

उनले भने, ‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन् । मौकाको दुरुपयोग नगर्नु होला । जनताको पक्षमा काम गर्नुहोला । अन्यथा अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ । यो रोकिनेवाला छैन् ।’

जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताउँदै लामिछानेले जनताले दिएको शक्ति लिएर आफ्ना कार्यकर्ता र आपेपासे आफन्त पोस्ने काम मात्रै नगर्न सुझाव दिए । 

अब संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने भन्दै लामिछानेले सबै दल भष्ट्राचार नियन्त्रण र अहिलेसम्म भएका ठूला काण्डको छानबिनका लागि तयार हुनुपर्ने बताए ।

साथै, उनले अहिलेको निर्वाचन परिणामबाट कोही पनि आत्तिन र मात्तिन नहुने भन्दै आफ्ना पार्टीका साँसद र सदस्यहरुलाई सचेत गराए । लामिछानेले निर्वाचनमार्फत युवाले हस्तक्षेपकारी भूमिका खेलेको बताए । 

नेपालको राष्ट्रियता, स्वधीनता र स्वाभिमानको सम्मान गर्न पनि उनले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । देशको सीमाको रक्षा गर्न निर्मम हुने बताउँदै लामिछाने देशको गुमेको भूभाग प्राप्त गर्न कुनै कसर बाँकी नराख्ने बताए । 

उनले मागी खाने नभई गरी खाने देश बनाउन खोजेको बताउँदै यसअघि नेपाली जनताले जित्न नपाएको तर यसपटक जितेको टिप्पणी गरे । आफ्नो निर्वाचन क्षेत्रको कार्यालयमा जनताका समस्या सुन्न एउटा खबरदारी र अर्को आइपरेका समस्या र सुझावको गरी दुई अलग अलग बाकस राख्ने पनि बताए ।

यस्तै, टोल तथा वडावडाबाट प्रतिनिधि छानेर संसदीय बोर्ड गठन गर्ने भन्दै त्यसका लागि प्रतिनिधि पठाउन सभामा उपस्थितहरुलाई आग्रह गरे । 

Advertisement

Advertisement