‘टेक्निकल रिजर्भ’को व्यवस्था हटेसँगै लगानीमा भोग्दै आएको झन्झटबाट मुक्ति पाएका छौंः पोखरेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘टेक्निकल रिजर्भ’ (प्राविधिकरुपमा राखिने जगेडा कोष) राख्नुपर्ने व्यवस्था हटाएसँगै जीवन बीमा कम्पनीहरु उत्साहित भएका छन् । 

विगतमा सोही रिजर्भका कारण आफूहरुले झन्झट व्यहोर्नु परे पनि बल्ल मुक्त भएको जीवन बीमा कम्पनीको प्रतिक्रिया छ । 

Advertisement

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले कर्पोरेट नेपालसँग भने, ‘जीवन बीमा कम्पनीहरुले बुझेको र भोग्दै आएको कुरा के हो ? भने विगतमा टेक्निकल रिजर्भ रहँदा धेरै किसिमका झन्झट भोग्नु पर्थ्यो । तर अहिले प्राधिकरणले टेक्निकल रिजर्भ हटाए पछि सहजता मिलेको छ ।’

टेक्निकल रिजर्भ रहने व्यवस्थाका कारण स–साना लगानी गर्न पनि कम्पनीहरु तत्कालिन बीमा समिति धाउनुपर्ने बाध्यता रहँदै आएको थियो भन्दै उनले अब यो अवस्था अन्त्य भएको बताए । पोखरेलले अब जीवन बीमा कम्पनीले भोग्दै आएको एउटा सास्ती हटेको बताए । 

विगतमा प्राधिकरणले केही निश्चित प्रतिशत रकम संचित गर्नुपर्ने र त्यसलाई टेक्निकल रिजर्भ नाम दिएको थियो । उक्त रकमभन्दा बढी नै लगानी जीवन बीमा कम्पनीहरुको हुन्थ्यो । निश्चित गरी तोकिएको क्षेत्र भन्दा बाहेकका क्षेत्रमा लगानी गर्नुपर्यो भने बीमा प्राधिकरणले स्वीकृति दिनु पर्थ्यो । अब सो कुरा हटेको छ । 

सीईओ पोखरेलले अब मुद्दती निक्षेपमा गरिने लगानी, डिवेन्चरका लागि गर्ने लगानीका लागि प्राधिकरण धाउनुनपर्ने बताउँदै तर सहायक कम्पनी खोल्ने बेलामा मात्रै प्राधिकरणको स्वीकृति आवश्यक हुने बताए । 

यसअघि जीवन बीमा कम्पनीले गर्ने लगानीको क्षेत्र निकै संकुचित गरिएकोले तोकिएको क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने बाध्यता थियो । प्राधिकरणले ५०, २० र १० प्रतिशत रकम दरले तोकेको थियो । तर अब टेक्निकल रिजर्भका व्यवस्था हटेको छ । 

उनले भने, ‘अब सय रुपियाँ लगानी गर्दा कुनमा ५० रुपियाँ हुने वा कुनमा २० रुपियाँ हुने भन्ने कुरा बीमा प्राधिकरणले स्पष्ट पारेको छ । यसरी स्पष्ट पारेसँगै विगत लामो समयदेखि लगानीको सन्दर्भमा जीवन बीमा कम्पनीले गर्दै आएको गुनासोमा केही राहत महशुस भएको अवस्था हो ।’

Advertisement

Advertisement