नेपाल भ्रमणको प्याकेज तयार गर्न मलेसियाका पर्यटन व्यवसायीलाई आग्रह

Advertisement

काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धन गर्न भन्दै नेपाल पर्यटन बोर्डले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस (नाट्टा)सँग मिलेर मलेशियाको क्वाललम्पुर र पेनाङमा ‘नेपाल सेल्स मिसन–२०२२’ आयोजना गरेको छ । 

सो क्रममा नेपाली टोलीले मलेसियाका पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गर्यो । कार्यक्रममा नेपाली पक्षले नेपाल घुम्नका लागि त्यहाँका पर्यटन व्यवसायी र पर्यटकलाई आव्हान गरेको बोर्डले जनाएको छ । 

Advertisement

नेपालका सुन्दर पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज तयार गर्न मलेसियाका पर्यटन व्यवसायीलाई आग्रह पनि गरिएको बताउँदै बोर्डका सीइओ डा. धनन्जय रेग्मीले नेपाली पर्यटन टोलीले मलेसियाको पर्यटकीय शहर पेनाङमा सोमबार कार्यक्रम गरी नेपाल भ्रमणको प्याकेज बनाउनेतर्फ विभिन्न आकर्षणबारे जानकारीसहित निम्तो दिएको बताए । 

उनले भने, ‘पर्यटन बोर्ड र नाट्टाले नेपालका सुन्दर पर्यटकीय क्षेत्र र नेपाल घुम्ने विशेष प्याकेज अहिले मलेसियाका विभिन्न शहरमा सार्वजनिक गरिरहेका छन् जसले मलेसियामा रहेका पर्यटकलाई नेपाल आउन सहज गराउने विश्वास छ ।’

बि–टु–बी सत्रमा नेपालका विभिन्न ट्राभल एजेन्टस् कम्पनीका संचालकहरुले मलेसियाका समकक्षी तथा व्यवसायीहरुसँग नेपालका आकर्षक गन्तब्य र पर्यटनका प्याकेजबारे छलफल तथा सम्झौता गरेको जनाइएको छ । 

नाट्टाका महासचिव कुमार थपलियाले मलेसियाका पर्यटकलाई हाम्रा देशका गन्तव्य महत्वपूर्ण तथा विशेष भएको भन्दै नेपाल घुम्नका लागि गरिएको आग्रह मलेसियाका व्यवसायीले सकारात्मक लिएको बताए । 

Advertisement

Advertisement