नेपाल पुनर्बीमाको व्यवसाय गर्ने ढंग पुगेन, अर्काको बदख्याईं गरे कम्पनी डुब्ने सिलवालको चेतावनी

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सरकारी लगानीमा संचालित नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) डुब्ने संकेत गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नेपाल रिका सीईओ शंकर रायमाझीलाई कटाक्ष गर्दै उक्त कम्पनी निरन्तर ओरालो यात्रामा लागेको संकेत गरे । सिलवालले भने, ‘नेपाल पुनर्बीमा कम्पनीमा देखिएको सबैभन्दा ठूलो समस्या भनेको उनीहरुले व्यवसाय गर्न ढंग पुर्याएनन् । अर्काको बदख्याईं गरेर हिंडेर मात्र त कम्पनी चल्दैन । अब हिमालयन पुनर्बीमा कम्पनी जसरी पनि आइसकेको अवस्था छ । अरुले जे भने पनि हिमालयन पुनर्बीमाको ध्यान व्यवसायमा केन्द्रित देखिन्छ । तर पहिलेको कम्पनी भए पनि नेपाल पुनर्बीमाले व्यवसाय गर्न जानेन् ।’ 

Advertisement

नेपाल पुनर्बीमाले हिमालयन पुनर्बीमासँग प्रतिस्पर्धा गर्नुको साटो उल्टै आफ्नो गुणस्तर खस्काउन केन्द्रित भएको उनको भनाई छ । सिलवालले कतिपय अवस्थामा नेपाल पुनर्बीमाले नेपाल भित्रका बीमा कम्पनीहरुलाई आवश्यक प्रशिक्षण दिनुपर्ने ठाउँमा त्यस्तो गर्नु त परको कुरा, आफ्नो व्यवसाय समेत गर्न बिर्सिएको बताए । 

उनले थपे, ‘नयाँ क्रियाकलाप गर्न त नेपाल पुनर्बीमा कम्पनी पाको छ । कम्पनी पाको भए पनि मान्छे त सबै कच्चा कच्चा परे त्यहाँ । त्यसले गर्दा नेपाल पुनर्बीमा कम्पनी ठूलो समस्यामा छ । अब फेरि बीमाको व्यवसाय दिने भनेको त नेपालमै रहेका कम्पनीले हो । उनीहरुले मन लाग्दा दिने हो । तर नेपाल रिले त झगडा गरेर मलाई नै देउ भनिरहेको छ । त्यसरी व्यवसाय मागेर पाइदैन ।’

सिलवालले नेपाल पुनर्बीमाको सोही प्रवृत्तिका कारण अहिले अधिकांश बीमा कम्पनीहरु उसँग रुष्ट हुन पुगेको बताए । नेपाल पुनर्बीमासँग रुष्ट रहेको चिट्ठी बीमा कम्पनीहरु धमाधम प्राधिकरणमा पठाइरहेको उनले जानकारी दिए । नेपाल पुनर्बीमाका अहिलेका कर्मचारीहरुको व्यवहारले कम्पनी नचल्ने सिलवालले बताए । 

उनले भने, ‘यस्ता मान्छे हुँदा नेपाल पुनर्बीमा डुब्छ पनि । त्यसैले सरकारी लगानीकको कम्पनी भएकाले यसमा सरकारले पनि हेर्नु पर्यो । सरकारको काम कारबाही केही सुस्त हुन्छ । तर यसमा सरकारले हेर्न जरुरी छ ।’ सिलवालले अब नेपाल पुनर्बीमालाई स्वायत्त छोड्न र कुशल व्यवस्थापक कम्पनीमा ल्याउन जरुरी रहेको बताए । नेपाल पुनर्बीमा राजनीतिक मान्छे ल्याएर चल्ने ठाउँ नभएको उनको भनाई छ । 

नेपाल पुनर्बीमाको हकमा आफूहरुले पुनर्विचार गर्न आवश्यक रहेको सिलवालले बताए । यस विषयमा थप जानकारी लिन खोज्दा नेपाल पुनर्बीमाका सीईओ शंकर रायमाझी सम्पर्कमा आउन चाहेनन् । 

Advertisement

Advertisement