टुँडिखेलमा थारु र मगर समुदायको विशेष कार्यक्रम, खानाका परिकारमा आकर्षण

Advertisement

काठमाडौं । राजधानीको टुंडिखेलमा आइतबार थारु तथा मगर समुदायले विशेष कार्यक्रम गरी माघी तथा माघे माघे सङ्क्रान्ति पर्व मनाए । आफ्नो साँस्कृतिक पहिरन, बाजागाजा, नाचगान, खानपिनसहित उनीहरुले यो पर्व मनाएका हुन् । 
 
टुंडिखेलमा मगर र थारु समुदायले छुटाछुटै महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवमा ती समुदायसँग सम्वन्धित तथा उनीहरुबाट निर्मित विभिन्न सामग्रीहरु बिक्रीका लागि राखिएको थियो भने थारु तथा मगर समुदायका खानाका परिकारहरु पनि मानिसहरुले स्वादका साथ खाइरहेको देखिन्थ्यो । 

महोत्सवमा साना ठूला गरी एक हजारभन्दा बढी पसल रहेको आयोजकहरुको भनाई छ । थारु समुदायको मात्रै सय वटा खानाका पसल राखिएको आयोजकमध्येका एक विनय चौधरीले बताए । 

Advertisement

थारु समुदायमा ठिक्री, झिङ्गे माछा, घोंगी लोकप्रिय खानाका परिकार हुन् । यसअघिको माघीको कार्यक्रममा कोरोना महामारीको कारण राम्रो व्यापार हुन नसके पनि यो बर्ष भने राम्रो आम्दानी भएको चौधरीले बताए । 

थारु समाज कल्याण संस्थाले टुंडिखेलको आजको कार्यक्रम आयोजना गरेको हो । 

त्यस्ते, मागर समुदायका ११४ खानाका पसलहरु सञ्चालनमा थिए । कार्यक्रम आयोजकमध्येका एक बबाल सारु मगरले आफूहरुको कला संस्कृति पहिचान र संरक्षणका लागि हरेक बर्ष माघे सङ्क्रान्तिमा कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले यस बर्ष विगतमाभन्दा धेरै मानिसको सहभागिता रहेको बताए । 

नेपाल मगर संघले आजको कार्यक्रम आयोजना गरेको थियो । 

Advertisement

Advertisement