काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी (इम्सन)सँग सहकार्यका लागि तयार रहेको बताएका छन् ।
इम्सनको नवनिर्वाचित कार्य समितिलाई स्वागत गर्न बोर्डमा बिहीबार आयोजित कार्यक्रममा उनले इम्सनसँग सहकार्य गरेर नेपालको पुँजी बजारको दिगो विकासका लागि आफू तयार रहेको बताएका हुन् ।
हमालले पुँजी बजारको दिगो विकासका लागि आर्थिक मिडियाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै इम्सनसँगको सहकार्यले पुँजी बजारलाई गतिशिल र विश्वसनीय बनाउन सहयोग पुग्ने बताए । उनले नेपालको पुँजी बजार विकासका लागि आफू अहोरात्र खटिएको बताउँदै त्यसको सकारात्मक नतिजा देखिन थालिसकेको पनि बताए ।
अध्यक्ष हमालले अब केहि समयभित्रै नेप्सेमा साना कम्पनीहरुको कारोबारका लागि एसएमई प्लेटफर्म कार्यान्वयनमा ल्याउने बताए । ‘हामीले एसएमई प्लेटफर्म सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदा तयार पारिसकेका छौं, केहि समयभित्रै मन्त्रिपरिषदमा पठाउँछौं’, उनले भने ।
मन्त्रिपरिषदले पास गरेपछि नेप्सेमा एसएमई प्लेटफर्म तयार गरि कार्यान्वयनमा ल्याउने हमालले स्पष्ट पारे । उनले एमएमई प्लेटफर्म कार्यान्वयनमा आएपछि पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने र साना कम्पनीहरु थप आकर्षित हुने पनि बताए ।
उनले रियल सेक्टरलाई पुँजी बजारमा भित्र्याउन पनि आफूले निकै मेहनत गरिरहेको बताए । बुक बिल्डिङमा देखिएका अप्ठ्यारा पनि समाधान उन्मुख रहेको हमालको दावी थियो । उनले संस्थागत सुशासन, साना लगानीकर्ताहरुको संरक्षणका लागि पनि आफूले काम गरिरहेको बताएका थिए । अध्यक्ष हमालले पुँजी बजारसम्बन्धी तालिम दिनका लागि संस्थागत संरचना नै खडा गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।