काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपियाँ थियो ।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ६० लाख १९ रुपियाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४५ करोड ४८ लाख ५१ हजार रुपियाँ थियो ।
कम्पनीको मुख्य आयोजनाको रुपमा रहेको ४२ मेगावाटको मिस्ट्री खोला आयोजनाको विद्युत उत्पादन २०८१ जेठ १५ देखि २०८१ साउन २० गतेसम्म बन्द रहेको थियो । बाढीका कारण मुख्य आयोजनाको उत्पादन पहिलो त्रैमासमा २० दिन बन्द हुँदा पनि कम्पनीको खुद नाफा १५.६८ प्रतिशतले बढेको छ । हाल भने ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन भईरहेको कम्पनीले जनाएको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रहेको छ । कम्पनीको रिटेन अर्निंङ १ अर्ब ३३ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख थियो। कम्पनीले आर्थिक वर्ष २०७९र८० बाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति शेयर आम्दानी १३.३९ रुपियाँबाट बढेर १३.४९ रुपियाँ पुगेको छ । वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी भने ५३.९६ रुपियाँ हुन आउंछ । कम्पनीको प्रति शेयर नेटवर्थ १५८ रुपैयाँ ७७ पैसा रहेको छ ।