नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु

Advertisement

काठमाडौं । नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशन शुरु भएको छ । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशन शुरु भएको हो ।

नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ सस्ंथाहरुको सहकार्यमा दोस्रो संंस्करणको रुपमा आयोजना गरिएको सेल्स मिसन माघ १५ देखि १७ गते सम्म चल्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । 

Advertisement

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नाट्टा विभिन्न एअरलाइन्स तथा भारताबाट ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) बाट कार्यकारी पधाधिकारी, भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती सहरका टूर अपरेटर र आन्तरिक पर्यटन व्यवसायी तथा भारतीय सञ्चारकर्मी गरि करिब तीन सय जनाको सहभागी रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै बांके जिल्लाबाट प्रतिनिधि सभा सदस्य सांसद डा. धवल शमशेर जबराले नेपाल भारतको लागि नजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउँदै यसको लाभ लिन भारतीयहरुलाई आग्रह समेत गरे ।

उनले छिट्टै नै नेपालजञ्जबाट दिल्ली, देहरादुन लगायतका सहरमा सिधा उडानको लागि पहल भइरहको जानकारी दिंदै यसबाट दुवै देशले फाइदा लिन सक्ने बताए । त्यस्तै, टाइका अध्यक्ष ज्योती मयालले नेपाल भारत मिलेर काम गर्दा दुवै देशको पर्यटनमा थप गतिशिलता ल्याउन सकिने भन्दै यसको सहकार्यको लागि टाई सधैं सकारात्मक रहेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले भारत नेपालको महत्वपूर्ण पर्यटकीय स्रोत बजार रहेकोले पर्यटन बोर्डले भारतलाई विशेष महत्व दिएको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट भारतीय व्यवसायीहरुलाई समेत नेपालबारे थप बुझ्ने र सहकार्यको सम्भावना विस्तार हुने बताइन । 

नाटाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनको लागि उतकृष्ट गन्तव्य रहेको बताउँदै भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधैं तयार रहेको बताए । साथै नाटाको निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले पश्चिम नेपाल आफैमा सुन्दर पर्यटकीय गन्तव्य रहेको र यो कार्यक्रमबाट दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । 

पश्चिम नेपालको पर्यटनमा नयाँ र फरक सोचका साथ पर्यटकीय सम्भावनाको खोजी, विकास र व्यवसायिक विस्तारका लागि मार्ट सहयोगी हुने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । मार्टमा आइताबार बीटुबी सेसन, नेपाल भारत पर्यटन बारे प्यालन डिस्कसन तथा सोमबार ट्राभल मार्टमा सहभागी भारतीय टूर अपरेटरहरुलाई बुद्ध एयरमार्फत  पहिलोपटक कैलाश मानसरोवर दुरदर्शन उडान, बर्दिया राष्ट्रिय निकुन्जमा जंगल सफारी तथा तेस्रो दिन टाइको अधिवेसन सहित समापन कार्यक्रम आयोजना गरिने बोर्डका प्रवन्धक सूर्य थपलियाले जानकारी दिए । त्यस्तै, कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराइने उनले बताए ।

वनारस, गोरखपुर तथा लखनउमा सेल्स मिसन सम्पन्न

यसैबीच नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) संगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (वनारस ), र ११ गते गोखपुर र माघ १३ गते लखनउमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न भएको छ । उक्त सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । वनारस, गोरखपुर तथा लखनउमा आयोजित कार्यक्रममा भारतीय पक्षबाट भारतीयहरु नेपाल भ्रमण गर्न चाहिरहेको उल्लेख गर्दै सीमा हुँदै नेपाल प्रवेश गर्ने गाडीहरुको सहज आवात जावत हुनु पर्ने तथा पर्यटकका लागि विशेष प्याकेज तयार गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए । 
 

Advertisement

Advertisement