छोराछोरी डाक्टर, इन्जिनियर पढ्छुभन्दा आर्थिक अवस्थाले नसकेर आमाबाबु रोएको देख्छुः कार्की

Advertisement

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको बताएकी छन् । शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् । 

शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीका छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताउँदै कार्कीले सरकारले दिइरहेको छात्रवृत्ति र सहुलियत कसले पाउँछ ? त्यो पनि थाहा नहुने गरी काम भइरहेको बताइन् । 

Advertisement

उनले आर्यघाटमा पुर्याइएको लाशमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन् । कार्कीले भनिन्, ‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ । कतिपय आमाबुबा रोएको देख्छु । पढाउने इच्छा छ । डाक्टर बनाउने इच्छा छ । डाक्टर बनाउने, इन्जिनियर बनाउने इच्छा राखेका छन् । बुबाआमालाई पनि पढाउने रहर छ । छोराछोरीलाई पनि पढ्ने रहर छ । तर, हैसियत छैन् । जग्गा बेचेको छ । ऋण लिएको छ ।’ 

उनले थपिन, ‘घर जग्गा यी कुराहरु केही पनि होइनन् । पढाइका अगाडि घर, जग्गा केही होइनन् । आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पत्ति हो । छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ । स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । शिक्षा व्यापार भएको छ । पहिला त्यस्तो थिएन । पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो । गरिबका छोराछोरी पनि डाक्टर बन्नसक्थ्यो । अब अहिले पैसा नभइ केही पनि हुँदैन । आर्यघाटमा जल्न त महंगो भइसक्यो । कसले डोनेसन देला र दाहसंस्कार होला, कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो । समाज यो अवस्थामा पुगिसकेको छ ।’ 

कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् । कार्कीले जनतालाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको बताइन् । उनले सरकारमा बस्नै सबै व्यापारीहरु रहेको बताइन् ।   

Advertisement

Advertisement