काठमाडौं । समुन्द्र सतहबाट आठ हजार १६३ मिटर उचाइको विश्वको आठौं अग्लो मनास्लु हिमालको आरोहण निकै जटिल र जोखिमपूर्ण मानिन्छ । उक्त हिमालको सफल आरोहण गर्ने एक सफल आरोही हुन् मिङमार छिरिङ लामा । उनी मनास्लु आरोहण गर्ने गोरखा सामागाउँमा पहिलो व्यक्ति पनि हुन् । पहिलो पटकमा नै जोखिमपूर्ण हिमाल सफलतापूर्वक आरोहण गर्ने व्यक्ति पनि हुन् । त्यो पनि बिना अक्सिजन आरोहण गर्न सफल भएका हुन् । लामाले २०७८ को शरद ऋतुमा असोज ११ गते बिहान ९ बजे मनास्लुको मुख्य चुचुरोमा पाइला टेक्न सफल भएका थिए । मनास्लुबाट पहिलो हिमाल आरोहण गर्दा नै सफलता पाएका लामा आफूले कुनै तालिम नलिईकन आरोहण गर्दा पनि सफलता हासिल गर्न सकेकोमा गर्व गर्छन् । उनीसँगको छोटो कुराकानीः
तपाईंले सुरुमै मनास्लु हिमाल नै आरोहण गर्नुको कारण के हो ?
सामागाउँका बासिन्दाले अहिलेसम्म मनास्लु चढेको थिएन् । मनास्लु बेस क्याम्प (आधार शिविर)सम्म चाहिं विदेशीहरु आरोहीहरुको बारी बोकेर पुग्ने गरेको थियो । तर अहिलेसम्म भने कसैले आरोहण गरेको छैन् । हामीले मनास्लुको मुख्य चुचुरो पनि छ भनेर पहिला नै सुनेको थियो । तर कोही आरोहीले पनि यसअघि मुख्य चुचुरोमा पुगेको भने थिएन् । एक जना माउन्टेन गाइड मिङ्मा जी शेर्पा हुनुहुन्छ । उहाँले मुख्य चुचुरोको बारेमा मलाई पनि भन्नुभयो । मलाई पनि जाउँ भन्नुभयो । विदेशी र नेपाली आरोहीहरु गरी टिममा २२ जना आरोहणमा गयौं । मनास्लुको काखमै बसेको म । मलाई पनि आफ्नो गाउँ नजिकैको हिमाल चढ्छु भन्ने मनमा सोच आयो । तर परिवारसँग कुरा गर्दा परिवारले मानेन । हिमालमा चढ्यो भने ‘मर्छ’, ‘जोखिम हुन्छ’ भनेर रोकेको थियो । तर मैले हिमाल चढ्ने मन बनाइसकेको थियो । मिङ्मा जी शेर्पा सन् २०२१ मा आरोहण गर्न गएँ । सफल पनि भएँ । साथी माउन्टेन गाइड भएकाले मलाई पनि हिमाल चढ्ने रहर जागेर आयो ।
कस्तो रहयो मनास्लु चढ्दाको अनुभव ?
मृत्यु हुनुअघिको अनुभव भयो । बेस क्याम्पबाट पाँच दिनमा मनास्लुको मुख्य चुचुरोमा पुग्यो । आरोहणको सुरुदेखि नै चुचुरोसम्म बिना अक्सिजन पुगेर फर्किएर आएको हो । मिङ्माले मेरो लागि भनेर अक्सिजन लिएर गए पनि मलाई प्रयोग नै गर्नुपरेन् । मनास्लु हिमालको चुचुरोमा करिब आधा घण्टा जति बसेर फर्किएर आउन सफल भयो हामी । यसअघि पनि नेपाली र विदेशीले मनास्लु चढिसकेको थियो । तर मुख्य चुचुरोमा बिना अक्सिजन कसैले आरोहण गरेको थिएन् । म अक्सिजन बिना नै चढ्न सकें ।
सामागाउँमा के पेशा व्यवसाय गर्नुहुन्छ ?
म किसान काम गथ्र्यो । होटल पनि छ सानो, मनास्लुको काखमा । छ–सात बर्ष भयो होटल चलाउन थालेको । सामागाउँमा कोही पनि मनास्लु चढ्न खोज्दैन्, मर्छ भनेर । सामागाउँका युवाहरुमा सीप छ । काम गर्नसक्ने हिम्मत छ । सीप भएपछि विदेशतिर जाने क्रम पनि बढ्दो छ । कोही मलेसियातिर, कोही फ्रान्सतिर, कोही अमेरिका, कोही क्यानाडातिर जाने गरेको छ । गाउँमा सबै बुढाबुढी मात्र छन् । भोलिको दिनमा यस्तै हुने हो भने बाआमाहरुले दुःख पाउने भयो । शेर्पाहरु विदेश नगएर हिमाल आरोहण गर्छ । हिमाल चढेर परिवार पाल्छ । परिवासँगै बस्छ ।
तर हाम्रो गाउँका मान्छेहरु हिमाल चढ्न जाँदा मर्छ भनेर डराएर बस्छ ।
तपाईंलाई चाहिं डर लाग्दैन् ?
म यही सोचले पनि मनास्लु आरोहण गर्न गएको हो । मान्छे हिमालमै मर्छ भन्ने छैन् । दिन आयो भने जहाँ पनि मर्नसक्छ । हामी हिमालकै काखमा बसेर हिमाल चढ्ने काम गर्दैन् । गाइडको काम गर्दैन् । विदेश जानुको सट्टा यही गाउँमै बसेर अवसर खोज्यो भने रोजगारी पाउँछ । युवाहरुले गाइडको काम गर्नसक्छ । आफ्नै टे«किङ कम्पनी खोल्नसक्छ ।
अब तपाईं अरु हिमाल चढ्नुहुन्छ कि अरु नै केही काम गर्नुहुन्छ ?
अरु हिमाल चढ्ने भनेर अहिले नै सोच बनाएको छैन् । बरु मैले मनास्लुको सफल आरोहण गरेपछि मेरो गाउँका अरुले पनि हिमाल चढ्न रुची देखाउन थालेको छ । मेरो सोच चाहिं गाउँमै रोजगार भएर बस्नुपर्छ भन्ने छ । त्यो भयो भने परिवारसँगै बस्न पायो । बुबाआमाले दुःख गरेर आफ्नो बालबालिकालाई १५–१६ वर्षसम्म पाल्यो । हुर्कायो । पढायो । त्यसपछि उनीहरु विदेशतिर गएर बस्छ । बाबुआमाबाट टाढा गएर बस्छ । परिवारबाट टाढा हुन्छ । गाउँमै बसेर गाइडको काम गर्यो भने पैसा कमाउँछ । विदेश जानु पनि पर्दैन् । पहिला मनास्लुमा धेरै मान्छेको मृत्यु भएको देखेर होकी, धेरैलाई डर भएको । सामागाउँको मान्छेमा एक किसिमको डर बसेको छ । उनीहरु आधार शिविरसम्म पनि जान मान्दैन् ।
यदि तपाईं फेरि हिमाल आरोहण गर्यो भने कुन हिमाल चढ्नुहुन्छ ?
सगरमाथाको आरोहण गर्छु होला ।