डीआईजी ढकालको सक्रियताः ‘सुरक्षित कर्णाली, विशेष अभियान’ शुरु गरिंदै

Advertisement

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णाली प्रदेशको वर्तमान सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन निकट भविष्यमा ‘सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान’ सुरु गर्ने भएको छ । 

सो सम्बन्धमा कर्णाली प्रदेश भित्रका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत प्रहरी सबै ईकाईहरूमा सबै  सम्बन्धित राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधि, उद्योग व्यवसायी, यातायात व्यवासायी, व्यापारी, समाजसेवी, विद्यालय तथा बजार व्यवस्थापन समितीका सदस्यहरू, प्रहरी तथा अन्य कर्मचारीहरू, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, नागरिक समाज तथा सरोकारवाला सबैसंग छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गरिएको छ । 

Advertisement

प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी इकाईहरूबाट आधारभुत सुरक्षा सचेतना, अपराध अनुसन्धान र रोकथाम,  अपराध अनुसन्धान र रोकथाममा सरोकारवाला निकायबाट उपलब्ध हुन सक्ने सहयोग तथा प्राप्त गर्न सकिने भौतिक श्रोत साधनहरु, लागुऔषध ओसार–पसार तथा दुर्व्यसनी नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, आत्महत्या नियन्त्रण, अवैध मदिरा सेवन तथा नियन्त्रण, नागरिक मैत्री प्रहरी व्यवहार, प्रहरी सेवामा थप सहजीकरण लगाएत नागरिकको प्रत्यक्ष जनजिविकासंग जोडिएको विषयहरुमा सुझाव संकलन गरिएको हो । 

यसैक्रममा जिल्ला प्रहरी कार्यालयहरू, मातहत ईलाका र चौकी स्तरसम्म सुरक्षा अन्तरक्रिया गरी सुझाव लिने कार्य भईरहेको छ । अहिले सम्म कर्णाली प्रदेश अन्तर्गत सुर्खेतमा १५, जाजरकोटमा १४, हुम्लामा २, रुकुम पश्चिममा १५, दैलेखमा १२, डोल्पामा २, कालिकोटमा १४, सल्यानमा १६, जुम्लामा ५, मुगुमा १४,  नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयमा १२ स्थानहरूमा सुझाव संकलन भईसकेको र बांकी स्थानहरूमा पनि संकलन गर्ने कार्य भईरहेको छ । 

त्यसैगरी कर्णाली प्रदेश प्रहरी  तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण, कर्णाली प्रदेश प्रहरी गण लगाएतका विभिन्न कार्यालयहरूबाट प्रत्यक्ष छलफल तथा अन्तरिक्रिया, सुझाव पेटिका, पत्राचार, सामाजिक संजालको माध्यमबाट  सुझावहरु संकलन गरिएको छ । हालसम्म कर्णाली प्रदेश भरिका १२१ स्थानहरुमा करिब ४००० जना आम नागरिकहरुबाट सुझाव संकलन गरिएको छ ।

सुझाव संकलन कार्यक्रमबाट प्राप्त भईसेकका सुझावहरूलाई अब छिटै नै कार्ययोजना निर्माण गरी लागु गरीने कुरा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।  हालसम्म सुझाव संकलन काम पुरा भएर कार्ययोजना निर्माणको चरणमा रहेको कुरा बताउनु भएको छ । 

यस अभियानबाट कर्णाली प्रदेशमा रहेको सुरक्षा व्यवस्था अझ बढी सुदृढ भई थप प्रभावकारी, समयसापेक्ष, गुणस्तरीय हुने कुरा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भिमप्रसाद ढकालले बताए । 

Advertisement

Advertisement