आइसफल डाक्टरको टोली सगरमाथा आरोहणको रुट निर्माण गर्न आधार शिविरमा

Advertisement

काठमाडौं । वसन्त ऋतुको सगरमाथा आरोहणको मौसम नजिकिएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको रुट निर्माणको लागि आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविर प्रस्थान गरेको छ । 

खुम्बु सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार खुम्बु आइसफल रुट निर्माणको लागि आइसफल डाक्टरहरुको टोली नाम्चे बजारबाट सगरमाथा आधार शिविर प्रस्थान गरेको हो । 

Advertisement

आइसफल डाक्टरहरुको टोलीले सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र माउन्ट नुप्त्सेको आरोहणका लागि खुम्बु आइसफल रुट निर्माण र मर्मतसम्भार गर्ने छ । रुट निर्माण गर्नुअघि, आइसफल डाक्टरहरूको टोलीले आज बिहीबारदेखि फागुन २२ सम्म सगरमाथा आधार शिविरमा खुम्बु क्लाइम्बिङ सेन्टरका प्रशिक्षकहरूबाट ‘अन–साइट’ तालिममा भाग लिने खुम्बु सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ । 

आइसफल डाक्टरहरुको टोलीले आधार शिविरदेखि क्याम्प–२ सम्मको रूट निर्माण गर्ने र मर्मत संभार गरी रुट खुलाउनेछ । त्यस्तै, क्याम्प–२ बाट सगरमाथाको चुचुरोसम्मको रुट भने नेपाली पर्वतारोही गाइडहरूले निर्माण गर्छन् । पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणको रूट खुलाउनेदेखि डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य गर्नेछ । 

उक्त टोलीमा छिरिङ तेन्जिङ शेर्पा (आधार शिविरका प्रबन्धक), आङ सार्की शेर्पा, छेवाङ नुरु शेर्पा, दावा जाङ्बु शेर्पा, दावा नुरु शेर्पा, मिङ्मा तेम्बा शेर्पा, पेम्बा छिरिङ शेर्पा, सोनम छिरिङ शेर्पा, तेन्जेर्पा गरी आठ जना आइसफल डाक्टरहरू रहेका छन् । त्यस्तै, दुई जना किचन् स्टयाफ (नवाङ थातेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा) र एक जना फोहोर व्यवस्थापन कर्मचारी (सञ्जीव तामाङ) समेत रहेका छन् ।

पर्यटकहरूले उत्पादन गर्ने फोहोरको विसर्जनका लागि ठोस नियमावलीको अभावमा सन् १९८० को दशकको अन्त्यतिर फोहोरमैला व्यवस्थापनका विषयमा गम्भीर चिन्ताको विषय बनेको थियो । जसका कारण ‘सगरमाथा प्रदुषण नियन्त्रण समिति’ नामको स्थानीय वातावरण संगठन गठन गरियो ।

एसपीसीसी खुम्बुका स्थानीयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा सन् १९९१ मा स्थापना भएको संस्था हो । सगरमाथा राष्ट्रिय निकुञ्ज, यसको मध्यवर्ती क्षेत्र र एभरेष्ट टे«किङ क्षेत्रलाई समेट्ने खुम्बु क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने काम गर्ने यो संस्थाको मुख्य कार्यालय नाम्चे बजारमा रहेको छ । 

Advertisement

Advertisement