दुर्गा प्रसाईंको आन्दोलनबाट झस्कियो सरकार, बैंकविरुद्धका गतिविधि रोक्न भन्दै सीडीओहरुलाई पत्र

Advertisement

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा भोलि शनिबारबाट हुन लागेको राजधानी केन्द्रीत आन्दोलनबाट सरकार झस्किएको छ । देश, धर्म, संस्कृति र राष्ट्रियको रक्षाको लागि भन्दै प्रसाईले मेचीबाट सुरु गरेको आन्दोलन भोलिबाट काठमाडौंमा सुरु गर्न लागिएको छ । 

विशेषगरी लघुवित्त संस्था र सहकारी पीडितको पक्षमा आवाज उठाउँदै उनले सुरु गरेको अभियान सेलाउने भन्दा पनि झन बढ्दै गएपछि सरकार मात्रै नभएर ठूला दल र नेताको मनमा चस्का पसेको छ । यस आन्दोलनले कतै सम्पूर्ण वित्तिय प्रणाली धरासायी त हुने होइन् ? भन्ने चिन्ता पनि बढेको छ । 

Advertisement

बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न भन्दै गेह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेखेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आक्रमणको प्रयास भएको भन्दै यसलाई रोक्न बैंकर र उनीहरुको संस्थाले सरकारलाई दबाब पनि दिएका छन् । 

बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न, निगरानी बढाउन निर्देशन दिइएको छ । लघुवित्त तथा सहकारीबाट पीडित भएकाहरुलाई संगठित गर्दै प्रसाईले सुरु गरेको आन्दोलनमा राजा ज्ञानेन्द्र शाहदेखि राजसंस्था पक्षधरहरुको साथ देखिन्छ । 

प्रसाईले २० लाख रुपियाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने, बैंकहरुको चर्को ब्याजलर घटाएर एकल अंकमा झार्नुपर्ने जस्ता मागहरु अघि सारेका छन् । ऋण माग्न आउने लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्ने र पैसा लुट्नेसम्मका काम भएपछि यस्ता गतिविधि रोक्न गृह प्रशासनले कडाई गरेको हो । पछिल्लो समयमा भने प्रसाईंले यस्ता गतिविधि गर्ने आफूहरुको उद्देश्य नभएको र शान्तिपूर्ण आन्दोलन गर्ने दावी गरेका छन् । 

गृह मन्त्रालयले वित्तीय संस्थाको गतिविधिमा खलल पुग्ने गरी कुनै पनि क्रियाकलाप कानुन विपरित भएको भन्दै गरेको परिपत्रमा वित्तिय संस्थाको सुरक्षामा ध्यान दिन र शान्ति सुव्यवस्था कायम गर्न भनिएको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताए।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘जिल्ला प्रशासनले सबै पक्षको शान्ति सुरक्षा कायम गर्नु कर्तव्य हो । यसै सन्दर्भमा घोसित रुपमा अराजक गतिविधि गर्नेलाई कारबाही गर्न सबै सिडियोलाई परिपत्र गरिएको हो ।’

लघुवित्त तथा सहकारी पीडित भनिएकाहरुको समुचित व्यवस्थापन गर्नुपर्छ तर यसको लागि कानुन नै हातमा लिएर अघि बढ्छु भन्नु गलत भएको तामाङको भनाई छ।

प्रसाईंले न्यूरोडस्थित बिरा कम्प्लेक्सका व्यवसायीहरुलाई भेला गरेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । 

Advertisement

Advertisement