उपसभामुख नेतृत्वको टोली खुम्बु पदयात्रामा, जलबायु परिवर्तनको असरबारे अध्ययन गरिने

Advertisement

लुक्ला, सोलुखुम्बु । जलवायु परिवर्तनको असरबारे बुझ्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर सहितको टोलीले खुम्बु क्षेत्रको पदयात्रा शुरु गरेको  छ । 

टोलीले अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) मा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा रहेको खुम्जुङमा हिमाली भेगका महिलामा परेको असरबारे अन्तरक्रिया गर्नेछ । 

Advertisement

जलबायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै फाउण्डेशन’ले आयोजना गरेको पदयात्रामा राष्ट्रियसभा सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, अभियान्ताहरु शरु श्रेष्ठ जोसी, यमुना घले, कृषि विकास मन्त्रालयका सहसचिव सवनम शिवाकोटी, साथसाथैकी अध्यक्ष प्रजिता कार्की, जलवायुविज्ञ डा. माधव कार्कीलगायतको सहभागिता छ । 

खुम्बु पासाङल्हमु गाउँपालिकाको समन्वयमा हुने उक्त अन्तरक्रियामा जलबायु परिवर्तनको असरबाट पीडित महिला, बालबालिका, बृद्धबृद्धासहितले भोगेका समस्या उजागर गर्नेछन् । 

हिमाली जनजीवन, विशेषगरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने, विश्व तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेकोले त्यसबारे ध्यानाकर्षण गराउने कार्यक्रमको उद्देश्य रहेको आयोजकको भनाई छ । 

अघिल्लो वर्ष ‘कालापत्थर घोषणापत्र’ जारी गर्दै यस किसिमको कार्यक्रम गरिएको थियो । आफूहरुले हरेक बर्ष नारी दिवसमा यस्ता कार्यक्रम गर्दै स्थानीयको आवाजलाई अन्तर्राष्ट्रियकरण गर्दै आएको संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा यस क्षेत्रका समस्या उजागर गर्ने तयारी गरेको र सोही सन्दर्भमा खुम्बु क्षेत्रमा कार्यक्रम गरिएको आयोजकको भनाई छ ।

Advertisement

Advertisement