काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यही मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ देखि पार्टीले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको बताए ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोस्रो चरणको आन्दोलनको एजेण्डा तय गरेर अगाडि बढ्नको लागि हामीले हाम्रो गृहकार्य गरेका छौ । रास्वपा सरकारलाई देश सबै नेपालीका लागि बस्न लायक बनाउन, विधिको शासन स्थापना गर्न, सहकारी पीडितहरुको समस्या समाधान गर्न, अर्थतन्त्रलाई चलाएमान बनाउन र राजनीतिक प्रतिशोध तुरुन्त बन्द गर्न केही एजेण्डासहित आगामी मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन घोषणा गर्दछ ।’
यस्तै, झाले दुई तिहाइको गठबन्धनबाट बनेको सरकारलाई कसैको डर नभएको भन्दै दुई तिहाईको आडमा गैरराजनीतिक अभ्यास गरिरहेको पनि बताए । राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने रास्वपाको आन्दोलनको एजेन्डा रहेको छ ।
उनले आफूहरुले ज्ञापनपत्र दिन प्रधानमन्त्री केपी ओलीसँग पाँच मिनेको समय माग्दा नदिएको तर ज्ञापनपत्र बुझाउन समय मागेको भन्दै सार्वजनिक कार्यक्रममा बोल्दै हिँडेको भन्दै घण्टौंसम्म भाषण गर्न समय हुने ओलीसँग आफूहरुलाई भेट्न समय नभएको बताए । झाले स्थानीय उपनिर्वाचनका क्रममा उम्मेदवारी दिन लागेका आफ्ना उम्मेदवारहरुमाथि भइरहेको दुर्व्यवहार, अपहरण, कुटपिट, धाकधम्कीको पनि आलोचना गरे । उनले आफ्ना उम्मेदवारहरुलाई सुरक्षा दिन पनि आग्रह गरे ।