एयरपोर्ट होटलमा ‘फुड कोर्ट’ सेवा थप्ने तयारी, पोखरा र भैरहवामा चेन होटल खोल्ने योजना

Advertisement

काठमाडौं । सिनामंगलस्थित एयरपोर्ट होटलले ‘फुड कोर्ट’ सेवा थप्ने तयारी गरेको छ । बाह्र बर्षअघिदेखि सञ्चालनमा आएको यो होटलले आफ्नो मुख्य प्रवेश अगाडी यस्तो फुड कोर्ट थप्ने तयारी गरेको होटलका अध्यक्ष विनायक साहले जानकारी दिए । 

होटल एशोसियशन अफ नेपाल (हान)का उपाध्यक्षसमेत रहेका उनले होटल अगाडि पार्किङको लागि ठाउँ थप्ने र ‘फुड कोर्ट’हरु राख्ने बताउँदै यो सुविधाले हवाई यात्रामा जान लागेका वा आएका यात्रुहरुलाई होटलको खाने कुराहरुको स्वाद लिने अवसर प्रदान गर्ने बताए । ‘फुड कोर्ट’मा राखिएका खानेकुरा स्वस्थ, सफा र मापदण्डअनुसार हुने भन्दै साहले होटलमै गएर खान बस्न सबैलाई असहज मान्नेहरुका लागि यो राम्रो अवसर हुने बताए । 

Advertisement

साथै, एयरपोर्ट होटलले पोखरा र भैरहवामा पनि आफ्नो चेन होटल खोल्ने योजना बनाएको छ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका ती ठाउँमा आफ्नो चेन होटल निर्माणका लागि जग्गा खोज्ने काम भइरहेको साहले बताए । त्रिभुवन विमानस्थलको मुख्य प्रवेश द्धारको ठिक अगाडि रहेको यस होटलले पार्किङको सुविधा पनि बढाउन लागेको उनले बताए । 

एयरपोर्ट होटलको आकर्षणको रुपमा रहँदै आएको रिभल्विङ (घुम्ने) रेस्टुरेन्ट ग्राहकहरुको रोपाईमा पर्ने गरेको बताउँदै अध्यक्ष साहले भने, ‘ रिभल्विङ रेस्टुरेन्टमा ग्राहकहरुको आगमन राम्रो छ । नेपालमा यो एक मात्र रिभल्विङ रेस्टुरेन्ट हो । त्यो होटलको रुफटपमा छ । ग्राहकहरुले जन्मोत्सव वा विशेष अवसरमा यहाँ आएर मनाउने गरेका छन् ।’

केही समयअघि एयरपोर्ट होटल ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा) अन्तर्गतको ‘लिडिङ एयरपोर्ट होटल’ बाट पुरस्कृत भएको थियो । होटलमा स्तरीय खाने बस्ने सुविधाका अतिरिक्त मनोरञ्जन, सभा, सम्मेलनसहितको उच्चस्तरीय सेवा रहेको बताउँदै साहले नेपाली रैथाने खाना पस्कने थलोको रुपमा पनि आफ्नो होटल चिनिएको बताए । 

पोखरा र भैरहवामा चेन होटल विस्तार गर्ने योजना आफ्नो रहे पनि केही जटिलता भोग्नुपरेको उनले सुनाए । साहले भने, ‘अहिलेको विषम आर्थिक अवस्थाले साथ दिइरहेको छैन् । हाम्रा नीति नियम पनि त्यस्तै जटिल खालका छन् व्यवसाय गर्न । स्पष्ट छैन् । हामी भैरहवा र पोखरामा होटल खोल्छौं नै । तर अहिले ‘वेट एण्ड सी’ मा छौं । उपयुक्त समय आउनासाथै निर्माण कार्य अघि बढाउँछौं ।’

चेन होटल खोल्दा एयरपोर्ट होटल सञ्चालनको अनुभव र विशेषज्ञता प्रयोग गर्ने उनले बताए । भैरहवा र पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय उडान सेवाहरु नथपिँदै होटल निर्माण गर्दा जोखिम पनि हुनसक्ने कुरालाई आफूहरुले मनन् गरेकाले ने केही ढिलो गरेको हो भन्दै उनले अहिले सिनामंगलकै होटलमा सुविधा र आकर्षणहरु थप्ने कुरालाई जोड दिएको बताए । 

आफूले एयरपोर्ट होटल निर्माण गर्दाको बेलाको अनुभव सुनाउँदै साहले भने, ‘त्यति बेला यो ठाउँमा चिया खाने ठाउँ पनि थिएन् । न हस्पिटालिटि, न आवास, न खानापिन र मनोरञ्जन गर्ने सुविधा थियो । न सभा बैठक गर्ने कतै ठाउँ थियो । हामीले होटल निर्माण सुरु गरेपछि व्यवसायिक गतिविधि बढ्न थाल्यो । अहिले त लस्करै होटल, रेष्टुरेन्ट, अफिस खुलिसक्यो ।’ एयरपोर्ट होटलले धेरै व्यवसायीलाई प्रेरणाा दिएको उनको भनाई छ । 


 

Advertisement

Advertisement