काठमाडौं । नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ । काठमाडौंको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरुलाई सम्मान कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आईटितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ छन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताइन् । आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेक जसो क्षेत्रमा अगाडि बढन कठिन र चुनौतीपूर्ण हुने गरेको खतिवडाले बताइन् । राजनीतिक दलका नेताहरु जिम्मेवार नहुँदा राजनीतिकर्मी महिलाहरु समेत अवसरबाट बन्चित हुनु परेकोमा रोष प्रकट गर्दै संविधान बनाउनेले नै कानुन उल्लंघन गरेको खतिवडाले जिकिर गरिन् ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरु पछाडी पारिएको जिकिर गर्नुहुँदै उनीहरुलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रुपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए । पुरुषका तुलनामा महिलाहरुलाई कम ज्याला दिने गरिएको भन्दै अग्रवालले विभेदको अन्त्य गर्नुपर्नेे औल्याए ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक बर्ष हुने यस्ता कार्यक्रमले महिलाहरुलाई अघि बढन हौसला मिल्ने बताइन् । अधिकाँश महिलाहरु विभिन्न प्रकारका विभेद र उत्पिडनमा पिल्सिरहन वाध्य रहेको अध्यक्ष श्रेष्ठले बताए । महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागीता एवम प्रतिनिधित्व अर्थपूर्ण हुने श्रेष्ठको भनाई छ । महिलाहरु अझै पनि हिँसामा पर्नेगरेको घटनाको स्मरण गर्दै उनले महिला सशक्तिकरणका निम्ती आर्थिक रुपमा स्वाबलम्बी बन्नुपर्नेमा जोड समेत दिए ।
नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले उत्पादनशिल क्षेत्रमा लगानी बिस्तार गरेर महिला उद्यमशिलताको विकास गर्नुपर्ने बताइन् । कृषि वस्तुको आयातमा रोक लगाउनुपर्ने भन्दै अधिकारीले आत्मनिर्भर कृषिका लागि पहल गर्नुपर्ने बताइन् । महिलाहरुलाई समान अवसर दिनुपर्नेमा अधिकारीले जोडदिए । राष्ट्र संघले नारी दिवसका लागि यो वर्ष ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी’ भन्ने नारा तय गरेको छ ।