साना किसान लघुवित्तले मनायो २२औं बार्षिकोत्सव, ‘सबै लघुवित्तलाई गलत भनेर प्रचार गरियो’

Advertisement

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शनिबार आफ्नो २२औं बार्षिकोत्सव मनाएको छ । वि.सं. २०३२ सालदेखि सञ्चालित साना किसान विकास आयोजनाबाट सहकारीमा रुपान्तरित साना किसान सहकारी संस्थालाई ऋण पुँजीको व्यवस्था गर्न यो घ वर्गको थोक कर्जा प्रदायकको रुपमा यो लघुवित्त संस्था स्थापना भएको थियो । 

बार्षिकोत्सवमा सहभागी वक्ताहरुले वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथि उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताए । 

Advertisement

कृषि विकास बैंकका पूर्वअध्यक्ष एवं सीईओ श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पादनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औल्याए । उनले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रमहरु कार्यन्वयन गर्नुपर्ने बताए । 

उपाध्यायले भने, ‘सहकारीमा समस्या मात्र छ्रैनन् । संभावना बोकेका र आफूलाई सफल प्रमाण्णित गरेका सहकारी पनि छन् । यसको पहिचान गर्ने समय आईसकेको छ ।’ सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए । 

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारीमार्फत सदस्य किसानहरुलाई प्रवाह गरेको ज्ञान, सीप, पूँजी, प्रविधि र सचेतनाले गरिब, पिछडिएका वर्ग, दलित, अल्पसंख्याक, महिलाको नेतृत्व विकासमा ठूलो योगदान पुगेको उपाध्यायले बताए । 

संस्थाका अध्यक्ष खेमबहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषणप्रति असन्तुष्टि जनाए । उनले जहाँ समस्या छ, त्यहीँ उपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलत भयो भन्ने गरी भइरहेको प्रचारप्रसारले आफूहरुलाई नकारात्मक प्रभाव पारिरहेको बताए । 

पाठकले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्थामार्फत सदस्य किसानहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताउँदै साना किसानमा कुनै समस्या नरहेको दावी गरे । अहिले एक हजार ४५९ साझेदार साना किसान कृषि सहकारीमार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । 

पाठकले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिए जस्तो समस्या नरहेको दावी पनि गरे । ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रीत साना किसान विकास लघुवित्त वित्तीय संस्थाले समुदायमा पछाडी परेका राउटे, कुुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्याक र महिलाहको आर्थिक सामाजिक रुपान्तरणमा काम गरिरहेको उनले जानकारी दिए । 

किसानहरुको सहभागितामा किसानहरुकै नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारीहरुमा कुनै समस्या नरहेको बताउँदै पाठकले कहीँ कतै त्यस्तो समस्या देखिए तत्काल समाधान गर्न आफूहरु तयार रहेको बताए । 

गरिब किसानहरुलाई धनी बनाउने, पछाडी परेकाहरुलाई मुलधारमा ल्याउने, सामाजिक सामुदायिक काममार्फत खानेपानी, सडक, सरसफाई लगायतका काममा साना किसानहरु गाउँ–गाउँमा लोकप्रिय संस्था बनेको उनको जिकिर छ । 

कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङले नेपालको दुरदराजका किसानहरुलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले किसानहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पादन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याए । 

गुरुङले किसानहरुको सहभागिता र नेतृत्व रहने साना किसान सहकारीसँग मात्र कारोवार गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्नेमा समेत जोड दिए । उनले सदस्यहरुको क्षमता विकास गर्दै विशेषगरी युवाहरुलाई नेपालमै कृषि तथा पशुपालनका क्षेत्रमा राम्रो आम्दानीको वातावरण बनाउन सकिने बताए । 
 
संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाहरुको मूल्यांकन गरिनुपर्ने बताए । उनले नेपालका ७६ जिल्लाका १० लाख ७९ हजार भन्दा बढि घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको दावी गरे । 

कोइरालाले ७९ प्रतिशत महिला सदस्य रहनेगरी नेपालको दुरदराजमा साना किसान कृषि सहकारीहरु स्थापना भई सञ्चालनमा रहेको बताउँदै अहिले सहकारीमार्फत सदस्यहरुले एकल र सामुहिक रुपमा चिया, दुध, डेरी, तेल, चामल लगायतका उद्यम सुरु गरेको बताए । 

कार्यक्रममा देशभर रहेका एक हजार ४५९ साझेदार सहकारी संस्थामध्ये सर्वोउत्कृष्ट संस्थाका रुपमा परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था, गुमी सुर्खेतलाई पुरस्कृत गरियो । यसैगरी ११ वटा इलाका कार्यालय रहेको संस्थामध्ये हेटौंडा इलाका कार्यालयलाई उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत गरियो । 

चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख र पुँजी कोष चार अर्ब ५२ करोड रुपियाँ रहेको साना किसान लघुवित्तमा साना किसान सहकारी संस्थाहरुको हिस्सा ४४ प्रतिशत रहेको छ । संस्थाको कुल सम्पत्ति ३२ अर्ब ५४ करोड पुगेको छ । 

Advertisement

Advertisement