काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रुपमा चित्रण गरेका छन् । सोमवार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ)को समापन कार्यक्रममा उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताए ।
किरातीले समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरक फरक देशबीचको कुटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्धलाई स्थापित गर्ने माध्यम भएको बताए ।
हिन्दी, चिनियाँ र अंग्रेजी जस्तै नेपालमा पनि फिल्म निर्माताहरुले उत्कृष्ट चलचत्रिहरु दिन आवश्यक रहेको उनको भनाई छ । किरातीले मौलिक संस्कृति, इतिहास, समाज र प्रकृतिको सम्पदामाथि फिल्म बनाउन आग्रह गर्दै चलचित्र क्षेत्रको विकास गर्नसके आर्थिक स्थिति पनि सुधार हुने बताए ।
उनले भने, ‘समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र हो । साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरक फरक देशबीचको कुटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्ध पनि त्यत्तिकै स्थापित गर्छ । अहिले यसलाई नरम कुटनीति हो । हिन्दी, चिनियाँ र अंग्रेजी जस्तै नेपालमा पनि फिल्म निर्माताहरुले त्यसरी नै ध्यान दिनुभइरहेको छ । मौलिक संस्कृति, इतिहास, समाज र प्रकृतिको सम्पदामाथि फिल्म बनाऔँ, विश्वमा चिनाऔँ । चलचित्ररुपी हतियारलाई राम्रोसँग विकास गर्नसके आर्थिक स्थिति पनि सुधार हुन्छ ।’
नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नबोलिकल हेरेर समाज रुपान्तरण गर्ने माध्यम भनेको चलचित्र हो भन्दै सिनेमाका माध्यमबाट देशको आर्थिक उन्नती हुने दावी गरे ।
उनँले संस्कृति, पयर्टनका माध्यमबाट आर्थिक अवस्थामा सुधार गर्न सकिने बताए । पाठकले सिनेमाले सम्पूर्ण कलाकारहरुलाई समावेश गरेर अघि बढ्न सक्ने माध्यम भएको बताए । उनले नेपालमा भएका एयरलाइन्सहरुमा जहाज उड्दा विदेशी सिनेमा हेर्नुपर्ने अवस्था रहेको भन्दै जहाजमा नेपाली चलचित्रहरु देखाइनुपर्ने बताए ।
पाठकले नेपालबाट उड्ने एयरलाइन्सले वर्षको ५ वटासम्म सिनेमा किन्ने वतावरण बनाइदिन मन्त्री किरातीलाई आग्रह गरे । चैत २ देखि शुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको हो । नेपाली फिल्मतर्फ चलचित्र प्रकाशबाट प्रदीप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् । पैंतिस देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेस्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो ।