काठमाडौं । कोरियाली चर्चित अभिनेत्री ली सि योङले आफ्नो ६ वर्षको छोरासँगै मर्दी हिमालको पदयात्रा गरेकी छन् । उनले यही अक्टोबर ३१ देखि नोभेम्बर ७ तारिखसम्म मार्दी हिमालको पदयात्रा गरेकी हुन् ।
योङले सोरा अड्भेन्चर एण्ड एक्स्पडिशन मार्फत मर्दी हिमालको पदयात्रा गरेकी हुन् । सोरा अड्भेन्चर एण्ड एक्स्पडिशन कम्पनीका अध्यक्ष ङावा ङिमा शेर्पाका अनुसार याङले नेपालमा पदयात्रा गरेको यो दोस्रो पटक हो । यसअघि उनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेकी थिइन् । यस पटकको पदयात्रामा उनले आफनो छोरासहित मर्दी हिमालको पदयात्रा गरेको शेर्पाले बताए ।
याङको मर्दी हिमाल पदयात्राको सह-प्रायोजन कोरियाली कपडाको ब्रान्ड ब्ल्याक याकले गरेको शेर्पाले जानकारी दिए । उक्त पदयात्राको टिममा ७ जना कोरियाली नागरिक रहेका थिए ।
ब्ल्याक याकले चाहिँ हरेक वर्ष नेपालमा ‘हिमालयन क्लिनिङ ट्रेकिङ’ अभियान संचलालन गर्दै आएको छ । जसमा उक्त कम्पनीले हरेक वर्ष ४, ५ वटा टिमलाई नेपाल पठाउने गर्दै आएको शेर्पाले बताए । सोही अभियान अन्तरगत याङले मर्दी हिमालको पदयात्रा गरेकी हुन् । यसअघि पनि उनले अन्नपूर्ण आधार शिविरको पदयात्रा पनि सो अभियान अन्तरगत नै गरेको शेर्पाले जानकारी दिए ।
कोरियाली चर्चित सेलिब्रेटी याङले नेपालको यस पटकसहित चौथो पटक भ्रमण गरिसकेकी छन् । कोरियाली सेलिब्रेटीहरु हिमालयमा पदयात्राका गर्न निकै चासो राख्ने गरेको शेर्पाले बताए ।