काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट धौलागिरी हेलिकोप्टर कम्पनी प्रालिले उडान अनुमति पत्र पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पर्यटन मन्त्रालयबाट धौलागिरी हेलिकोप्टरले इजाजत पत्र आएको जानकारी दिए । अब कम्पनीले प्राधिकरणबाट एयर अपरेटर सर्टिफिकेट (एओसी)को लागि प्रक्रिया चाल्नुपर्छ ।
एओसी पाएपछि मात्र व्यवसायिक उडान गर्न पाइने बताउँदै भुलले मन्त्रालयबाट उडान इजाजतपत्र पाएका नयाँ वायुसेवा कम्पनीले प्राधिकरणको प्रि–एप्लिकेसन, एप्लिकेसन, डकुमेन्टेसन, डेमोस्ट्रेसन र एओसी गरी पाँच चरण पार गर्नुपर्ने प्रावधान रहेको बताए ।
एओसीमा प्राधिकरणले कम्पनीको प्राविधिक, व्यवसाय योजनाहरु, आगामी दिनको योजनाहरु, कुन–कुन जहाजहरु ल्याउने हो ? जस्ता कुराहरु अध्ययन गरिसकेपछि मात्र र सबै कागजी प्रक्रिया पूरा गरेपछि मात्र कम्पनीले एयर अपरेटर प्रमाणपत्र पाउने उनले बताए । यो प्रक्रिया ६ महिनादेखि एक वर्षसम्म लाग्नसक्ने भुलको भनाई छ ।