काठमाडौं । चौधरी समूहको लगानी रहेको चितवनको मेघौलीस्थित टाइगर ल्याण्ड सफारी रिसोर्टमा ठूलो आगलागी भएको छ । रिसोर्टमा बुधबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ ।
रिसोर्टका एक प्रवन्धक गुप्ता गिरिले रिसोर्टको लबी एरिया, रेष्टुरेन्ट र मिटिङ हलमा क्षति भएको बताउँदै क्षतिको मूल्यांकन गर्ने काम भइरहेको बताए । उनले भरतपुर महानगरपालिका र सेनाको आठ वटा बारुण यन्त्र, सुरक्षाकर्मी, कर्मचारी, स्थानीय मिलेर आगलागी नियन्त्रण गरेको जानकारी दिए ।
गुप्ताले भने, ‘निकै ठूलो क्षति भएको छ । कति क्षति भयो ? मूल्यांकन गर्ने काम भइरहेको छ । अहिले नै भन्नसक्ने अवस्था छैन् । आगलागीपछि रिसोर्टका पर्यटकहरुलाई जगतपुर लजमा सारिएको थियो । आगलागी भएपछि हावा चल्दा आगो धेरै फैलिएर क्षति भएको गिरिले बताए । उनले मानवीय क्षति भने हुन नपाएको बताए ।
अहिले घट्नास्थलमा सुरक्षाकर्मीसमेतको सहभागितामा सरसफाई गर्ने काम भइरहेको उनले जानकारी दिए । पर्यटक आउने सिजनमा नै रिसोर्टमा आगलागी भएको हो । यसमा चौधरी समूहअन्तर्गत अरुण चौधरीको लगानी रहेको छ । रिसोर्ट नौ वर्ष अगाडि उनले लिएका हुन् ।