काठमाडौ । कोरोना महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएका पर्यटकको समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले स्वागत गरे ।
चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो । पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गरे । उनले कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।
मन्त्री किराती र राजदूच सोङबीच विमानस्थलमै कुराकानी भएको थियो । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनसम्म सिधा उडानको लागि आवश्यक सहयोग र पहल गर्न राजदूतसँग आग्रह गरे ।
सोङले नेपाल चिनियाँ पर्यटकहरुको रोजाईको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैं सकारात्मक भएको बताए । उनले कोभिडपछि चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने बताए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताए । उनले नेपाल चीन सीमानाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनियाँ राजदूतसँग आग्रह समेत गरे ।