कागजबाट बनेका दूना प्लेटको माग बढ्दै गए लगानी थप्ने व्यवसाय पौडेलको योजना

Advertisement

काठमाडौं । पछिल्लो समय बजारमा प्लाष्टिक र कागजका प्लेट, कप, चम्चाको प्रयोग बढ्दै गएको छ । सालको पातका दूना टपरीको अभाव र महंगो हुँदै गएको बेला विकल्पमा प्लाष्टिक र कागजका दूना, प्लेट, कप, चम्चाले बजार ढाकेको छ । 

सालको पातका दुना टपरी नेपालको मौलिकतासँग पनि जोडिएको व्यवसाय हो । हरेक शुभ कार्य र शोक कार्यमा दूना टपरीको प्रयोग नै शुद्ध मानिदै आएको छ । तर उपभोक्ता सस्तो र सहजतातर्फ ढल्किँदा र राज्यले पनि यस्तो व्यवसायलाई संरक्षण गर्न नसक्दा कागज र प्लाष्टिकका दूना टपरीको प्रयोग बढेको हो । 

Advertisement

यस्तै कागजका दूना बिक्री गर्दै आएका एक व्यवसायी हुन चितवनका गणेश पौडेल । समयको माग र आवश्यकताअनुसार चल्न उनले विगत दुई बर्षदेखि ‘पौडेल पेपर प्लेट तथा कप उद्योग’ खोलेर कागजका दूना टपरी उत्पादन तथा बिक्री गर्दै आएका छन् । 

यस्तो किसिमको व्यवसाय सानो लगानीमा पनि सुरु गर्न सकिन्छ । घरमा गरिने सानातिना कार्यदेखि वनभोज र ठूला भोजमा धातुका भाँडाकुँडाभन्दा कागजका अस्थायी साधनको माग बढ्दो रहेको पौडेलले बताए । 

धातुका भाँडाकुँडा प्रयोग गर्दा माज्नुपर्ने झन्झट हुने, हराउने जोखिम हुने, भाँडा माज्न ज्याला दिएर मानिस राख्नपर्ने जस्ता समस्या हुने भएकाले मानिसहरु कागजी सामान दूना र प्लेटमा बढी आकर्षित भएको पौडेलको भनाई छ । 

दश लाख रुपियाँ लगानीमा व्यवसाय सुरु भएको उनले कागजबाट बनेका कप, प्लेट बिक्रीबाट मासिक ३० हजार रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पौडेलले भने, ‘पेपर प्लेट थोरै लगानीबाट पनि मुनाफामा जाने व्यवसाय हो । बजारमा यस्ता प्लेट राम्रो बिक्री हुन्छ । तर अहिले यस्ता व्यवसाय बढेर प्रतिस्पर्धा निकै हुन थालेकाले घाटा हुने हो कि भन्ने डर लाग्न थालेको छ ।’

पौडेलले आफूले उत्पादन गरेका सामान ग्राहकलाई प्रत्यक्षरुपमा बिक्री गर्न थालेका छन् । उनी भन्छन्, ‘डिलरहरुलाई बिक्री गर्दा उधारो कारोबार हुन्छ । पैसा उठाउनै गाह्रो हुन्छ । त्यो भन्दा ग्राहकलाई सिधै बिक्री गर्दा उनीहरुले सुपथ मूल्यमा पनि पाउने भए । नगदमा बिक्री भएपछि आफूलाई चल्न पनि गाह्रो नहुने भयो ।’

पौडेलको उद्योगबाट दैनिक ६० किलो पेपर प्लेट तथा दूना उत्पादन हुने गरेको छ । यस्ता प्लेटहरु प्रतिकिलो २८० देखि तीन सय रुपियाँसम्ममा बिक्री गर्ने हुने गरेको छ । उनले सामान उत्पादन गर्न भारतबाट कच्चा पदार्थ आयात गर्दा धेरै झन्झट हुने भएकाले नेपालभित्रै अरुले ल्याएको खरीद गर्ने गरेका छन् । 

कागजका प्लेट, दूना उत्पादन गर्न बाक्लो खालको कागज प्रयोग हुन्छ । कागजको प्लेट प्रयोग गर्दा उपभोक्ताको स्वास्थ्यमा कुनै असर नपर्ने बताउँदै पौडेलले व्यवसाय राम्रो हुँर्दै गएमा केही वर्षभित्र लगानी थप्ने बताए ।

Advertisement