सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ बाट, प्रवर्द्धक परिसंघ

Advertisement

काठमाडौं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२,२३ र २४ गते हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराइयो । 

प्रदर्शनी चितवन उद्योग संघको आयोजनामा र नेपाल उद्योग परिसंघको प्रवर्द्धनमा हुन लागेको हो । चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुने यस मेलामा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड वेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाको प्रदर्शनी हुनेछ । 

Advertisement

यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सय भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ । प्रदर्शनीले नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । 

उनले प्रदर्शनी उद्यमीहरुलाई आधुनिक प्रविधि अनुशरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्न सहयोग पुग्ने बताए । कँडेलले प्रदर्शनीका क्रममा मेक इन नेपाल लगायतका स्वदेशी उत्पादकत्वको वृद्धि र पहुँच बिस्तारको गोष्ठी आयोजना गर्नेपनि बताए । 

उनले प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कँडेलले यस प्रदर्शनी नेपालको औद्योगिक विकासमा सहयोग पुर्याउन कोशेढुंगा सावित हुने पनि दावी गरे । 

Advertisement