उपभोक्ताको गुनासोः ‘महँगो दशैँ, हरेक सामानमा चर्को बार्गेनिङ गर्नुपर्छ’

Advertisement

काठमाडौं । दशैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा चहलपलह देखिन थालेको छ । 

तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दशैँ नलागेको बताइरहेका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपलह देखिन थालेको हो । 

Advertisement

तर उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता,चप्पल, कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए । 

असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका मुख्य बजारमा दशैँका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोचेभन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् । व्यापारीहरुले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहुँच भन्दा महँगो भएको स्वीकार गरे । 

काठमाडौंको रानीवनबाट असनमा किनमेल गर्न आएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताए । उनले महिला, पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरुमा मूल्य सूचीहरु समेत नभएको बताए । भट्टले सरकार सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने बताए । 

उनले पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उल्लेख गरे । भट्टले पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको बताए । उनले ग्राहकले व्यापारीसँग निकै बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको बताए । भट्टले मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्यवृद्धि भइरहने अवस्था रहेको बताए । उनले सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै बजार नियन्त्रण नभए आम सर्वसाधरण जनता मूल्यवृद्धिको मारमा परिरहने बताए । 

राजधानीको सुकेधाराबाट किनमेलको लागि आएकी रुपा गुरुङको भनाई पनि त्यस्तै रहेको छ । उनले विगतको तुलनामा बजारमा सामानको मूल्य दुई सय रुपियाँ भए पनि महँगो पाइएको बताइन् । गुरुङले दशैँ नेपालीहरुको सबैभन्दा ठूलो चार्ड भएकाले पनि बजार मूल्य उपभोक्ताको लागि सहज र सस्तो सरकारले बनाइन् । 

त्यस्तै काठमाडौंको वसुन्धराबाट किनमेलको लागि असन आएकी स्मृती सेडााइँले पनि सामान्य समयको भन्दा दशैँमा आएर महँगो देखिएको प्रतिक्रिया दिइन । उनले काठमाडौंका अन्य बजारभन्दा असनमा सस्तो रहेको बताइन । सेढाइँले मानिसहरुको केही आम्दानी बढेको र हरेक घरपरिवारमा एक जना विदेश भएकाले विगतको जस्तो नयाँ लुगा लगाउन दशैँ कुर्नुपर्ने अवस्था नभएको बताइन । 

त्यस्तै, सुमित्रा सेडाइँले दशैँ लागेकाले बजार हरेक वस्तु महँगो रहेको बताइन । भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिइन । उनले विगतको भन्दा अहिले सस्तोमा समान पाउन थालेको बताइन । उनले एक हजार रुपियाँ भन्दा तलको मूल्यमा कुनै पनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको बताइन् । 

अधिकांश उपभोक्ताहरुले बजार महँगो भएकाले यो वर्षको दशैँ महँगो हुने भएको प्रतिक्रिया दिए । उनीहरुका अनुसार बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरुले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ । 

Advertisement

Advertisement