नाम्चे । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट एक हजार पाँच जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथाको लागि मात्रै ४५४ जनाले आरोहणको लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
विभागका निर्देशक युवराज खतिवडाले अनुमति लिनेमध्ये ७७५ जना पुरुष र २३० जना महिला रहेको बताए । सगरमाथाको लागि अनुमति लिनेमध्ये ९३ जना पुरुष र ३६१ जना महिला छन् ।
सबैभन्दा बढी सगरमाथाको लागि अनुमति लिएको खतिवडाले जानकारी दिए । उनले भने, ‘सगरमाथाकै लागि मात्रै यति धेरै आरोहण अनुमति लिएको अहिलेसम्मै कै अधिकतम् संख्या हो । वसन्त ऋतृमा मात्र विभागले ७१ करोड ७८ लाख ८५ हजार २५७ रुपियाँ रोयल्टी संकलन गरेको छ । यो पनि अहिलेसम्मको रोयल्टी संकलन भएको अधिकतम् हो । अब हामी नेपालको पर्वतारोहण सुरक्षित छ भने विश्वास दिलाउने अवस्थामा पुगेका छौ ।’ हिमाल आरोहण गर्नेहरुको संख्या बढ्दै गएकाले नेपालका अन्य हिमालहरु पनि आरोहणका लागि खुल्ला गर्दै जानुपर्ने अवस्था आएको अतिवडाले बताए ।
सगरमाथा आधार शिविर (बेस क्याम्प)देखि क्याम्प–४ सम्मको ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) को काम सकेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिइन । क्याम्प–२ देखि चुचुरो सम्मको जिम्मा सो कम्पनीले पाएको छ । माउन्टेन गाइड दावा ग्याल्जे शेर्पाले यो कामको नेतृत्व गर्नेछन् ।
वसन्त ऋतुका लागि सगरमाथाबाहेक २२ वटा हिमाल आरोहण गर्न उनीहरुले अनुमति लिएका हुन् । आरोहीहरुले सुर्मा सरोवर नथ (६,५२३ मिटर), अन्नपूर्ण– १ (८,०९१ मिटर), पाङग्री गोलदुम्बा (६,६२० मिटर), मनास्लु (८,१६३ मिटर), थोराङ पिक (६,१४४ मिटर), बरुण त्से (७,१२९ मिटर), लोत्से (८,५१६ मिटर), नोप्से (७,८५५ मिटर), हिमलुङ हिमाल (७,१२६ मिटर), गन्चेङपो (६,३७८ मिटर), धौलागिरि (८,१६७ मिटर) जाक्या पिक (६,४७३ मिटर), आमा दब्लम (६,८१४ मिटर), मकालु (८,४६३ मिटर), अरनिको चुली (६,०३४ मिटर), खातुङ (६,४८४ मिटर), तु त्से (६,७५८ मिटर), पुमोरी (७,१३८ मिटर), कञ्चनजंगा (८,५८६ मिटर), काब्रु (७,३१८ मिटर), तेङगी रागी ताउ (अगोले) (६,९३८ मिटर) हिमाल आरोहण अनुमति लिएका छन् ।