ठमेललाई सुरक्षित र व्यवस्थित बनाउने हिसावले अनुगमन सुरु गरेका हौंः भविश्वर शर्मा

Advertisement

काठमाडौं । राजधानी काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल पर्यटन विकास परिषदले ठमेललाई सुरक्षित र व्यवस्थित बनाउने हिसाबले अनुगमन सुरु गरेको बताएको छ । कोरोना महामारीका कारण सुस्ताएको ठमेलको पर्यटन व्यवसायमा अहिले केही सुधार आएको छ । 

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेललाई सुरक्षित बनाउने हिसाबले अनुगमन सुरु गरेको बताए । ठमेलमा पारिवारिक वातावरण सिर्जना गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाका नगर प्रहरी, सोह्रखुट्टे र दरबारमार्ग विटका प्रहरी पर्यटन प्रहरी, ट्राफिक प्रहरी, ठमेलका घरधनी र व्यवसायीको बैठक बसेर यो अभियान सुरु गरेको बताए । 

Advertisement

शर्माले भने, ‘ठमेलको अनुगमन गरियो । ठमेलमा केही लुटपाटका घटनाहरु भइरहेको, सडक बालबालिका बढेको, फुटपाथमा पनि व्यवासय गरेर सहज तरिकाले हिड्ने वातावरण सिर्जना नगराएको हुँदा यसलाई व्यवस्थित गर्नुपर्छ भनेर अलिकति कठोर हिसाबले व्यवस्थापन गर्न यो काम सुरु गरेको हो । 

यो अभियान करिब एक महिना चल्ने उनले बताए । त्यसपछि एक महिनाको कामको समीक्षा गरेर नयाँ कार्यक्रम ल्याउने शर्माले बताए । उनले अहिले ठमेलका होटल व्यवसायीहरुले ध्वनी प्रदुषणका कारण ग्राहकहरु राख्न सकिएन भनेर गुनासो गर्ने गरेको सुनाउँदै त्यस्तो अवस्था कहाँ कहाँ छ ? भनेर अनुगमन गरेको पनि बताए । 

आफ्नो व्यवसाय सञ्चालन गर्दा एकअर्को व्यवसायलाई असर नपर्नेगरी गर्न सबैलाई परिषदले सचेत गराएको शर्माले बताए । यस्तो समस्यामा कसैलाई मर्का परेमा मर्का पार्नेलाई कानुनी उपचारमा लगेर कारवाही गर्ने उनले बताए । 

अहिले ठमेलमा सीसीक्यामरा जडानको काम सुरु भइसकेको जानकारी दिँदै शर्माले ठमेलमा जाउँ, ठमेलमा बसौं, ठमेलमा खाऔं भन्ने वातावरण सिर्जना गर्न आफूहरु लागेको बताए । परिषदले सामुहिकरुपमा सुरक्षाकर्मी तथा निजी निजी गार्डहरु राख्ने कुरा भइरहेको बताउँदै ठमेलमा हरेक शुक्रबार बेलुका ७ बजेदेखि १२ बजेसम्म सडक महोत्सव गर्ने योजना रहेको बताए । 

ठमेलका सडकहरुमा ठेलामा राखेर फास्ट फुड बेच्ने, मासु पोल्ने कुराले वातावरण प्रदुषित हुनुका साथै वरिपरिका होटल तथा रेस्टुरेटलाई असर परेको, पर्यटकहरुले पनि गुनासो गरेको उनको तर्क छ । शर्माले यस्ता सडक व्यवसाय बन्द गर्न भनेको बताउँदै सडकमै माग्ने र सुत्ने १२–१३ जना मानिसहरु भेटिएकाले उनीहरुलाई मानव सेवा आश्रममा लगेर राख्ने बताए । 

ठमेललाई एक महिनाभित्रमा सुरक्षित, प्रदुषणमुक्तसँगै सडकहरु पिच (कालोपत्रे) गरिसक्ने र पार्किङस्थलको तथ्यांक संकलन गरी ट्राफिक व्यवस्थापन मिलाएपछि हरेक शुक्रबार साँझ सडक महोत्सव आयोजना गर्ने उनले बताए । व्यवसायीको मागअनुसार यस्तो महोत्सव गर्न लागेको शर्माले बताए । कोरोना महामारीमा ठमेल छोडेर गएकाहरु अहिले फर्किसकेको दावी गर्दै यही बर्ष १०–१५ वटा होटल सञ्चालनमा आइसकेको बताए । 

अहिले होटलहरुमा ७०–८० प्रतिशत पर्यटकले भरिए पनि ठमेलमा सटरमा व्यवसाय गर्नेहरुको अवस्था भने राम्रो छैन् । आर्थिक मन्दीका कारण धेरै व्यापार व्यवसाय सुस्त हुन पुगेको हो । ठमेलमा सामान महंगो हुने भएकाले सो ठाउँमा बस्ने पर्यटकहरु सामान किन्न अन्यत्र जाने गरेका छन् । शर्माले ठमेलमा आएका पर्यटकहरु सहज र सुरक्षितरुपमा हिंडडुल गर्ने वातावरण आफूहरुले मिलाएको बताए । 

Advertisement

Advertisement