धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ पर्यो, सवारी आवागमन बन्द

Advertisement

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो ।

धुनिबेँशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।  पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ ।

Advertisement

नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन । 

पृथ्वीराजमार्गको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध
यता, पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो । 

डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका छन् । दुर्घटनापश्चात् स्थानीयवासीले सडकअवरुद्ध गरेको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिए । स्थानीयवासीले ट्रकसमेत तोडफोड गरेको छन् । घटनास्थलमा धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । 

घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरक्षिक मोहनबहादुर खाणले जानकारी दिए । ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको स्थानीयवासी समेत रहनुभएका नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए । “घुम्तीमा एक्काीस ट्रले आएरु ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्,” अधिकारीले भने ।  

ठक्करबाट दश वर्षीया जस्मि भुजेल, सात वर्षीय सानुभाइ भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीया आयुष भुजेल, सात वर्षीया आयुषा भुजेल, दश वर्षीय इश्वर भुजेल, आठ वर्षीय घैटे भुजेल, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल घाइते भएका छन् । रासस

Advertisement

Advertisement