काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण शनिबार सम्पन्न भएको छ ।
यसक्रममा पाकिस्तानकी नाइला कियानीले पसगरमाथाको सफल आरोहण गरी पहिलो अन्तर्राष्ट्रिय आरोही बनेकी छन् ।
इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाका अनुसार पाकिस्तानकी कियानीले आज बिहान ८ बजेर २ मिनेटमा सगरमाथाको सफल आरोहण गरेकी हुन् । उनले इमाजिन नेपाल ट्रेक्सका पासाङ टेम्बा शेर्पासँग सगरमाथाको चुचुरोमा पुगेकी प्रबन्धक दावा फुुटी शेर्पा जानकारी दिइन् ।
पाकिस्तानकी कियानीले पाकिस्तानमा रहेको गाशरब्रम–१, गाशरब्रम–२ र केटु हिमालको सफलतापूर्वक आरोही गरी सकेकी छन् ।
यस वर्ष अहिलेसम्मकै धेरै आरोहीहरुले सगरमाथा आरोहण गर्न प्रमिट लिएका छन् । साथै रोयल्टी संकलन पनि अहिलेसम्मकै उच्च रहेको पर्यटन विभागले जनाएको छ । पर्यटन विमागले दिएको मे ८ तारिखको तथ्याङक अनुसार सगरमाथासहित २७ वटा हिमाल आरोहणका लागि ६५ मुलुकका १ हजार एक सय २३ जना आरोहीले पर्यटन विमागबाट आरोहण अनुमति लिएका छन् ।
अनुमति लिनेमध्ये ८६९ जना पुरुष र २५४ जना महिला छन् । उनीहरुबाट ७४ करोड ६ लाख ४७ हजार २९० रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।
आरोहीहरुले सुर्मा सरोवर नथ (६,५२३ मि), अन्नपूर्ण– १ (८,०९१ मि), पाङग्री गोलदुम्बा (६,६२० मि), मनास्लु (८,१६३ मि), थोराङ पिक (६,१४४ मि), सगरमाथा (८,८४८.८६ मि), बरुण त्से (७,१२९ मि), ल्होत्से (८,५१६ मि), नोप्से (७,८५५ मि), हिमलुङ हिमाल (७,१२६ मि), गन्चेङपो (६,३७८ मि), धौलागिरि (८,१६७ मि) थापा पिक (धम्पस) (६,०१२ मि) जाक्या पिक (६,४७३ मि), आमा दब्लम (६,८१४ मि), मकालु (८,४६३ मि), अरनिको चुली (६,०३४ मि), खातुङ काङ (६,४८४मि), तु त्से (६,७५८ मि), पुमोरी (७,१३८ मि), कञ्चनजंगा (८,५८६ मि), काब्रु (७,३१८ मि), तेङगी रागी ताउ (अगोले) (६,९३८ मि), चाङवाटाङ (६,१२५मि), चण्डी हिमाल (६,०९६मि), होंगु ÷सुरा पीक (६,७६४मि) हिमाल आरोहण अनुमति लिएका छन् ।