काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गरी फर्किएका यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई शनिबार (आज) बिहान त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
उनले यही गएको जेठ ३ गते बिहान सगरमाथाको सफल आरोहण गरेका थिए । थमसेर्कु ट्रेकिङ कम्पनीका अनुसार शेर्पाले सगरमाथा पनि आरोहण गरेसँगै विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखरका मुख्य चुचुरो (रियल समिट) आरोहण गर्ने पहिलो नेपाली बनेका छन् ।
शेर्पाले अर्जेन्टिनाको अग्लो हिमाल (६,९६२ मिटर) अकोनकागुवा र अफ्रिकाको अग्लो हिमाल माउन्ट किलिमन्जारो (५,८९५ मिटर), यूरोपको अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर), अन्टार्कटिकाको सबैभन्दा अग्लो हिमाल विन्सन (४,८९२ मिटर), इन्डोनेशियाको अग्लो हिमाल कास्र्टेन पिरामिड (४,८८४ मिटर) चढिसकेका छन् ।
यती ग्रुप (यति एयरलाइन्स र तारा एयर)का अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी शेर्पाका पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको छ ।