काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि खुला गरेको आईपीओमा उत्साहपूर्ण सहभागिताप्रति आभार प्रकट गरेको छ ।
कम्पनीले कूल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको शेयर जारी गर्नेछ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाएको सहभागिताबाट उद्योग व्यवस्थापन हर्षित भएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता छुट्याइएको थियो । देश बाहिर रहेका शेयर खरिदकर्ताले देखाएको उत्साहले थप हौसला उद्योगले विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।
नेपालको औद्योगीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकासमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्धित घोराही सिमेन्ट इन्डष्ट्रि क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो ।
उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्याएको छ ।
कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणको लागि जारी गर्ने शेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता हुने विश्वास व्यक्त गरेको छ ।