काठमाडौं महानगरमा सवारी साधन पार्किङ शुल्क निर्धारण, दुई र चार पांग्रेलाई कति ?

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपियाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपियाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन् । 

सोमबार अपरान्ह नानसँग संक्षिप्त कुरा गर्दै उनले आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको बताइन् । उनले नगरभित्र दुई पांग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क १५ रुपियाँभन्दा बढी लिन पाइने छैन् । 

Advertisement

एक घण्टाको २५ रुपियाँ र एक घण्टाभन्दा थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५–५ रुपियाँ शुल्क लाग्नेछ । डंगोलका अनुसार चार पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपियाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै, एक घण्टाका लागि ७५ रुपियाँ तिनुपर्नेछ । त्योभन्दा बढि समय थप भए हरेक १५ मिनेटमा १५ रुपियाँ थपिँदै जानेछ । 

उनले भनिन्, ‘धेरैको गुनासो, आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति, कतै चार सय भने कतै २० रुपियाँ, कतै पाँच सय छ । फरक–फरक भयो । यो हुँदा सेवाग्राही पनि अन्यौलमा । सँगसँगै सेवा दिनेहरुलाई पनि कसरी रेट तोक्ने ? भन्ने खालको अन्यौलता । त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ । पार्किङ शुल्कमा एकरुपता आओस् भन्ने उद्देश्यका साथमा तोकेको हो ।’ 

त्यसैगरी, महानगरपालिकाले आफ्नो मातहत भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमै तलव उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । स्रोत भर्ना कोषमार्फत् आफूहरुले सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा नै तलव खुवाउने व्यवस्था गरेको डंगोलले बताइन् । 

सामूदायिक विद्यालयका शिक्षकहरुले त्रैमासिक रुपमा तलव पाउने व्यवस्था सरकारले गरेको छ । तर काठमाडौं महानगरपालिकाले भनेस्रोत भर्ना कोषमार्फत् उनीहरुलाई मासिक रुपमै तलव लिने व्यवस्था गरेको हो । उपमेयर डंगोलले भनिन्, ‘यो वर्ष भित्रबाट काठमाडौं महानगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले पनि मासिक रुपमै तलव पाउने व्यवस्था हामीले गरेका छौं । यो चाँही त्रैमासिक रुपमा केन्द्रीय सरकारबाट आउने बजेट यस पटकदेखि भने हामीले स्रोत भर्ना कोष राखेका छौं । योमार्फतबाट हरेक महिना महानगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले भने तलव मासिक रुपमा नै पाउने व्यवस्था हामीले गरेका छौं ।’

Advertisement

Advertisement