काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९–८० मा महानगरअन्तर्गत रहेका सामुदायिक विद्यालयका छात्राहरुलाई एक करोड ६४ लाख ६५ हजार आठ सय रुपियाँ मूल्यबराबरको सेनिटरी प्याड निःशुल्क वितरण गरेको छ ।
महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले महानगरभित्र रहेका ८९ वटा सामुदायिक विद्यालय र दुई वटा महिला विद्यालयमा अध्ययनरत १६ हजार ८८८ छात्राहरुलाई सेनिटरी प्याड निःशुल्क वितरण गरिएको बताए ।
हरेक छात्राले एक बर्षमा ९७५ रुपियाँ बराबरको सेनिटरी प्याड निःशुल्क प्राप्त गरेको उनले बताए । प्रत्येक महिना दुई प्याकेटका दरले प्याड वितरण गर्ने गरिएको जनाइएको छ । सामुदायि विद्यालयहरुले पठाएको विवरणका आधारमा प्याडहरु वितरण गर्ने काम गरिएको कोइरालाको भनाई छ ।