काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनी अवार्ड्स् फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको छ ।
युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो तेस्रो पटक हो ।
यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले अवार्ड पाएको थियो । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो ।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ।
बैंकले २९६ शाखा, २८० एटीएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा प्रदान गर्दै आएको छ ।