काठमाडौ । काठमाडौ विश्वविद्यालयले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न स्वरोजगारको कार्यक्रम संचालन गरिरहेको छ । विजनेश इन्क्युबेशन सेन्टर मार्फत विश्वविद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई अध्ययन र व्यापारको अवसर एकसाथ दिइएको हो ।
विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुबाट कम्तीमा २० वटा व्यवसाय स्थापना गराउने योजना राखिएको छ भने सोही कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट एक करोड रुपियाँ सहयोग प्राप्त भएको छ । काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले उर्जासँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख रुपियाँ विनियोजन गरेको छ । त्यस्तै,एक करोडको अक्षय कोष स्थापना गरिएको छ ।
नविनतम सोचलाई व्यापारमा परिणत गर्न यी स्रोत प्रयोग गरि आर्थिक सहयोग एवं लगानी गर्ने योजना बनाएको छ भने आर्थिक सहयोग मात्र नभइ प्राविधिक र व्यवस्थापन सम्बन्धी परामर्श निशुल्क रुपमा उपलब्ध काठमाडौं विश्वविद्यालयले गराउँदै आएको छ ।
त्यस्तै ,काठमाडौं विश्वविद्यालय अन्तर्गत कोरियन सरकारको सहयोगमा नेपाल टेक्नोलोजी इनोवेशन सेन्टरको पनि स्थापना गरिएको हो । सो सेन्टरमा अत्याधुनिक उपकरणहरु पनि रहेका छन् । अनुसन्धान गरी व्यापारीकरण सम्म पुग्न आवश्यक सेवा र सुविधा त्यस सेन्टरबाट विद्यार्थीलाई उपलब्ध गराइने छ ।
काठमाडौं विश्वविद्यालयमा सन् २०१४ मै स्थापना भएको काठमाडौं विश्वविद्यालय विजनेश इन्क्यूबेशन सेन्टरको स्थापना भएको थियो । सन २०१७ सम्ममा १० वटा नविनतम सोचहरुलाई व्यापारका रुपमा परिणत गरिएको विश्वविद्यालयले जनाएको छ । काठमाडौं विश्वविद्यालयले आन्तरिक स्रोतबाट संचालन गरेको सो सेन्टर हाल काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले संचालन गर्दै आएको छ ।