काठमाडौं । सुनचाँदी कारोबार सम्वन्धी कार्यविधि वनाउने बिषयमा सुनचाँदी ब्यवसाय क्षेत्रमा आवद्ध तीन महासंघ बीच छलफल सम्पन्न भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघ सम्मिलित संयुक्त कार्यदलले तीनैवटा महासंघको संयुक्त पहलमा कार्यविधि वनाउने बिषयमा पहल गरेको हो । कार्यदलले विगत लामो समयदेखि यो पहल गर्दै आएको छ ।
सुनचाँदी ब्यवसायलाई ब्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उदेश्यले यो पहल शुरु गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
काठमाडौंमा मंगलबार सम्पन्न तीन महासंघको संयुक्त कार्यदलको बैठकले सरकारी निकायसँग आवश्यक परामर्श गर्दै ब्यवसाय मैत्री कार्यविधि निर्माणमा जुट्ने प्रतिविद्धता जनाएको हो ।
त्यसक्रममा सुनको आयात, वितरण प्रणाली, ऐन, कानून लगायतका बिषयमा पनि छलफल भयो । छलफलमा नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्डमान शाक्य, कार्यदल संययोजक विपिन रामुदामु लगायतको सहभागिता थियो ।