काठमाडौं । नेकपा एमालेले लम्पी स्किन रोगको नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार माईतीघर मण्डलामा भेला भई एमालेका नेता कार्यकर्ताले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताए ।
उनीहरुले लम्पी स्किन देशव्पयापी रुपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको गुनासो गरे । प्रदर्शन कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री रामेश्वर फुँयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताए । उनले देशभरका किसानहरुलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको बताए ।
फुँयालले भने, ‘सात सय ५३ वटै स्थानमा सरकार छन् । अहिले १ अर्ब बढीको क्षति भइसकेको छ, लम्पी स्किनबाट । ७६ जिल्लामा पशु मरेका छन् । सबैतिर फैलिसक्यो । तर पनि सरकार कुम्भकर्ण निन्द्रामा छ । सबैलाई दुख्यो तर सरकारलाई दुखेन । त्यसैले सडकबाट सरकारको ध्यानाकर्षण गराएका हौँ ।’
काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशुवस्तुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने बताए ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए । उनले पशुलाई लम्पी स्किनको खोप दिन पनि सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाए ।
प्रदर्शनमा सहभागीहरुले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराउ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।