काठमाडौं । सिद्धार्थ बैंकले गएको आर्थिक बर्षमा तीन अर्ब १९ करोड एक लाख रुपियाँ खुद नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको वित्तीय विवररणअनुसार खुद मुनाफा अघिल्लो आर्थिक बर्षभन्दा ९.९१ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बैंकले दुई अर्ब ९० करोड २४ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशतले बढाउन सफल सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपियाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ५ रुपियाँ ६५ पैसा रहेको छ।
सिद्धार्थ बैंकको नाफा बढे पनि प्रतिशेयर आम्दानी भने बढ्न सकेको देखिन्न । यस्तो आम्दानी ५३ पैसा घटेर २२ रुपियाँ ६४ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपियाँ ७३ पैसा रहेको छ ।
सिद्धार्थ बैंकको गएको असारसम्म चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख रुपियाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपियाँ रहेको छ ।